विद्युत प्राधिकरणले सहजीकरण नगरेसम्म सुन्दर यातायातले बिजुली बसहरू नचलाउने बताएको छ।
प्राधिकरणले विद्युत महशुलमा सहजीकरण नगरेसम्म बस सञ्चालन नगर्ने यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए।
प्राधिकरणले चार्जिङ स्टेसन शीर्षक अन्तर्गतको शुल्क लिनुपर्नेमा अन्य शीर्षक अन्तर्गत चर्को शुल्क लिएकाले र कोभिडका कारण थलिएको सुन्दर यातायात थप समस्यामा परेको थापाको गुनासो छ।
‘पहिले चार्जिङ स्टेसन शीर्षकमा बिल तिर्दा प्रतियुनिट पाँच रूपैयाँ बीस पैसासम्म थियो। अहिले अन्य शीर्षक भनेर प्रतियुनिट नौ रूपैयाँको बिल पठाएको छ। बिजुली बस चलाउन प्रोत्साहन गर्नुपर्नेमा चलाउनै नसक्ने अवस्था बनाइदिएको छ,’ उनले सेतोपाटीसँग भने।
प्राधिकरणका हाकिम फेरिएदेखि आफूले चर्को शुल्क तिर्नुपरेको उनको गुनासो छ।
उनका अनुसार अघिल्लो लकडाउनपछि सरकारले सार्वजनिक यातायातले २० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरे पनि सुन्दर यातायातले पुरानै भाडादरमा यात्रुलाई सेवा दिएको थियो। यो पटक भने जताततैबाट आफू चपेटामा परेका कारण बस निकाल्न नसकेको उनले बताए।
‘बस निकालेको भोलिपल्ट किस्ता तिर्न बैंकको तोकेता आउँछ। कर्मचारीलाई तलब दिनुपर्यो। सरकारले केही सहज गरिदिएन। बरू ग्यारेजमै थन्कियोस्,’ उनले भने।
विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भने आफूलाई यस विषयमा जानकारी नभएको बताए।
’शुल्क त सधैं एउटै हुन्छ। कुन वितरण केन्द्र अन्तर्गत कसले त्यसरी चार्ज गरेको हो त्यो जानकारी आयो भने समस्या के हो विस्तृत बुझ्न सकिन्छ,’ उनले भने।