होन्डा बाइक र स्कुटरको विभिन्न मोडलको मूल्य वृद्धि भएको छ। नेपालको लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले बुधबारदेखि लागु हुनेगरी बाइक र स्कुटरको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो।
नेपाली बजारमा होन्डाको प्रायः मोडल चर्चित छन्। होन्डाको विभिन्न मोडलका स्कुटरको क्षमता ११० सिसीदेखि १२५ सम्मको छ। मोटरसाइकलको क्षमता पनि ११० सिसीदेखि २५० सिसीसम्मको छ।
मूल्य वृद्धि हुने स्कुटरमध्ये होन्डाको एक्टिभा १२५ एसटिडी एलइडी पहिलो हो। यो स्कुटरको मूल्य ६ हजारले वृद्धि भएको छ। पहिले २ लाख १८ हजार ९ सय थियो भने अहिले यसको बजार मूल्य २ लाख २४ हजार ९ सय पुगेको छ।
त्यस्तै ग्राजिया एसटिडीको मूल्यमा २ हजार र ग्राजिया डिएलएक्सको मूल्यमा ५ हजार रूपैयाँले मूल्य वृद्धि भएको छ। हाल बजारमा ग्राजिया एसटिडीको मूल्य २ लाख २४ हजार ९ सय पुगेको छ भने ग्राजिया डिएलएक्सको मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँ पुगेको छ।
डिओ एलइडी डिएलएक्सको मूल्य पनि ३ हजार रुपैयाँले बढेको छ। पहिले यसको बजार मूल्य २ लाख १६ हजार ९ सय रूपैयाँ थियो भने अहिले यसको मूल्य २ लाख १९ हजार ९ सय रुपैयाँ पुगेको छ। त्यसैगरी एभिएटरको मूल्य पनि ३ हजार रुपैयाँले वृद्धि भएको छ। ११० सिसीको एभिएटर एलइडीको मूल्य २ लाख २२ हजार ९ सय रुपैयाँ पुगेको छ।
बाइक मोडल सिबी साइन डिआरएसको मूल्यमा पनि ४ हजारले वृद्धि भएको छ। १२५ सिसीको यो बाइकको मूल्य अब २ लाख १९ हजार ९ सय रूपैयाँ पुगेको छ।
होन्डा सिडी ड्रिम डीएलएक्सको मूल्य ३ हजार रुपैयाँले बढेको छ। पहिले १ लाख ८८ हजार ९ सय पर्ने यो बाइकको मूल्य अब १ लाख ९१ हजार ९ सय पुगेको छ।
सिबी साइन डिएसएसको मूल्य २ लाख २९ हजार ९ सय, सिबी साइन एसपी डिआरएसको मूल्य २ लाख ३९ हजार ९ सय र सिबी साइन एसपी डिएसएसको मूल्य २ लाख ४९ हजार ९ सय पुगेको छो। यी बाइकहरूको मूल्यमा ४(४ हजारले बढेको हो।
त्यस्तै सिबी युनिकर्न १५० एसटिडीको मूल्य पनि ४ हजारले बढेको छ। यो मोडलको बजार मूल्य यतिबेला २ लाख ६९ हजार ९ सय पुगेको छ।
नेपाली बजारमा होन्डा ब्रान्डले लोकप्रियता कमाएको छ। यसको दर्जन बढी मोडलको बाइक र स्कुटर बजारमा उपलब्ध छ।