नेपाली बजारमा प्रोटोनको नयाँ मोडल ‘प्रोटोन एक्स–७०’ सार्वजनिक भएको छ। प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुधबार साँझ 'प्रोटोन कार्स नेपाल'को फेसबुक लाइभमार्फत उक्त गाडी सार्वजनिक गरेको हो।
मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनले नेपालमा समेत लोकप्रियता कमाएको छ। प्रोटोन एक्स ७० बजारको प्रतिक्षित मोडल हो।
जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवालले ग्राहकहरूलाई गुणस्तरीय सामग्री उपलब्ध गराउने बताएका छन्। उनले भने, ‘हामी नेपालभरका ग्राहकहरूलाई अन्तराष्ट्रियस्तरको सेवा दिनेछौं।’
नेपालमा 'प्रोटोन एक्स–७०' चार वटा भेरियन्टमा उपलब्ध हुनेछ: १.५ टिजीडिआई स्टान्डर्ड २डब्लुडी, १.५ टिजीडिआई एक्जिक्युटिभ २डब्लुडी, १.५ टिजीडिआई एक्जिक्युटिभ एडब्ल्युडी र १.५ टिजीडिआई प्रिमियम २डब्लुडी। यी भेरियन्टहरूको आ–आफ्नै विशेषताहरू छन्।
प्रोटोन एक्स–७०का सबै भेरियन्ट अत्याधुनिक डिजाइनमा तयार भएका छन्। यो ५ सिटर एसयुभी हो। यसको बाहिरी आवरण आकर्षक हुनुका साथै आन्तरिक विशेषताहरू पनि भिन्न छन्।
गाडीमा ८ इन्चको स्क्रिन,स्मार्ट मोबाइल फोन कनेक्टिभिटी, इन्टेलिजेन्ट एयर फिल्टर, एन ९६ केबिन फिल्टर, ६ युएसबी पोर्ट, एलइडी हेडल्याम्प, डे टाइम रनिङ ल्याम्प, अटो रेन सेन्सिङ वाइपर्स, पेनोरेमिक सनरुफ, किक सेन्सर, पावर टेलिगेटलगायत फिचरहरू छन्। भेरियन्टअनुसार सेफ्टी फिचरहरू पनि फरक र प्रिमियम छन्।
गाडीमा एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमरजेन्सी ब्रेक एसिस्ट, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट इन्फरमेसन सिस्टम, इन्टेलिजेन्ट हाई बिम कन्ट्रोल, ३६० डिग्री थ्रीडी क्यामेरा, १८ इन्चको अलोय ह्विल, टायर प्रेसर मोनिटरिङ सिस्टमजस्ता अत्याधुनिक सुरक्षाका अतरिक्त सुविधाहरू छन्।
१.५ टिजीडिआई स्टान्डर्ड २डब्लुडीको सुरुवाती बजार मूल्य ८६ लाख ९९ हजार तोकिएको छ। त्यस्तै १.५ टिजीडिआई एक्जिक्युटिभ २डब्लुडीको ९१ लाख ९९ हजार रूपैयाँ, १.५ टिजीडिआई एक्जिक्युटिभ एडब्ल्युडीको ९६ लाख ९९ हजार रूपैयाँ र १.५ टिजीडिआई प्रिमियम २डब्लुडीको १ करोड ४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।
यी गाडीहरू चार रंगमा उपलब्ध हुनेछन्: स्नो ह्वाइट, जेट ग्रे, आर्मोर सिल्भर र स्पेस ग्रे। 'प्रोटोन एक्स ७०'ले ५ स्टार सेफ्टी रेटिङ पाएको छ।
मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनका अधिकारी डाटो मोह्द रड्जेफ मोहमदले 'प्रोटोन एक्स–७०' नेपाली बजारको लागि उपयुक्त हुने विश्वास राखेका छन्। उनले भनेका छन्, 'म प्रोटोन एक्स ७० नेपाली बजारलाई उपयुक्त हुने आशा गर्छु। यसले राम्रो प्रतिक्रिया समेत पाउनेछ।'