टाटा मोटर्सले ह्यारियर, नेक्सन र अल्ट्रोजको 'ब्ल्याक एडिसन' मोडल सार्वजनिक गर्ने भएको छ। कम्पनीले बिहिबार यी तीन गाडीको 'ब्ल्याक एडिसन' छिट्टै भारतीय बजारमा सार्वजनिक गर्ने घोषणा गरेको अटो हिन्दुस्तानले जनाएको छ।
अटो हिन्दुस्तानका अनुसार यी मोडलहरू केही सातामा भारतको आधिकारिक टाटा डिलरशिपमा उपलब्ध हुनेछन्।
टाटाले केही समयअघि 'डार्क थिम संस्करण'का कार सार्वजनिक गरेको थियो। कम्पनीले ह्यारियरकै पनि डार्क–थिम संस्करण सार्वजनिक गरेको छ। यो मोडल बजारमा ‘डार्क एडिसन’ भनेर उपलब्ध छ। जसको मूल्य भारू १८ लाख ३५ हजार र १९ लाख ६० हजार तोकिएको छ।
नयाँ सार्वजनिक हुन लागेको 'ब्ल्याक एडिसन' कारहरू कालो एलिमेन्टहरूको साथै स्टाइलिस आवरण हुने अनुमान लगाइएको छ। कालो–थिमको बाहिरी आवरणबाहेक टाटाले यी कारहरूमा पूर्णरूपले भित्री डिजाइन पनि कालो बनाउने भनिएको छ। यसको बाहिरी डिजाइन भने स्पोर्टी ढंगको हुनेछ।
यीबाहेक नयाँ संस्करणका गाडीहरूको विशेषता र मूल्यसूची सार्वजनिक हुन बाकिँ नै छ।
कम्पनीले हालै एक रिपोर्ट सार्वजनिक गरेको थियो। जसमा कम्पनीले भारतमा जुन महिनामा मात्रै २४ हजार १ सय १० गाडी बिक्री गरेको बताएको छ। त्यस्तै यसको विद्युतीय गाडी नेक्सन गत महिना सबैभन्दा बढी बिक्री हुने गाडी भएको छ। नेक्सन सन् २०२० जनवरीबाट भारतमा बिक्री तथा वितरण सुरु भएको हो।
नेपालमा पनि टाटाले लोकप्रियता कमाइरहेको छ। टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालीले नेपालमा नयाँ नेक्सन विद्युतीय एसयुभी गाडी अर्को साता सार्वजनिक गर्दैछ।