होन्डा कार इन्डियाले आफ्नो चार पाङ्ग्रेको सबै उत्पादनमा मूल्य वृद्धि गर्ने योजना बनाएको छ। आयात लागत बढेसँगै उत्पादनको पनि मूल्य बढाउने योजना कम्पनीले बनाएको अटो हिन्दुस्तानले जनाएको छ।
अटो हिन्दुस्तानका अुनसार होन्डा कार इन्डियाका वरिष्ठ उपाध्यक्ष तथा मार्केटिङ एन्ड सेल्सका निर्देशक राजेश जिएलले कच्चा धातुको मूल्य बढेसँगै उत्पादन मूल्य बढेको कारण देखाएका छन्।
‘स्टिल, एल्मुनियमलगायत कच्चा धातुको मूल्य बढिरहेको छ। जसले गर्दा लागत मूल्य बढेको छ,’ उनले भनेका छन्, ‘हाम्रो प्रयास उत्पादनलाई जति सक्दो सस्तो बनाउनु हो। त्यसैले यस विषयमा हामी थप छलफल गर्दैछौं। निश्कर्षमा पुगेका छैनौं।’
यसअघि नै विभिन्न गाडी उत्पादन कम्पनीहरूले आफ्नो साधनको मूल्य बढाएको छ। होन्डाले पनि अप्रिलमा एकपटक मूल्य बढाइसकेको हो।
गत साता मात्रै नेपालमा होन्डा दुई पाङ्ग्रेको केही मोडलको मूल्य बढेको छ। भारतमा चार पाङ्ग्रे सवारीको मूल्य वृद्धि भए नेपालमा पनि त्यसको प्रभाव पर्नेछ।