साझा यातायातले आइतबारदेखि बस सञ्चालनमा ल्याएको छ।
पहिलो चरणमा विभिन्न रुटमा १९ वटा बस सञ्चालनमा ल्याएको साझाका सुपरभाइजर हरिराम मिश्रले बताए।
लगनखेल–नयाँबसपार्क रुटमा पाँच वटा, लगनखेल–बुढानिलकण्ठ रुटमा पाँच, थाननकोट एयरपोर्ट तीन, रत्नपार्क–लामाटार तीन र रत्नपार्क–गोदावरी तीन गरी १९ बस सञ्चालनमा ल्याएको मिश्रले सेतोपाटीलाई जानकारी दिए।
सरकारले गत मंगलबारदेखि जोरबिजोर प्रणालीअनुसार उपत्यकामा सार्वजनिक बस सञ्चालन गर्न पाउने निर्णय गरेको थियो। निर्णयको पाँच दिनपछि मात्रै साझाले बस सेवा सुरु गरेको हो।
भोलिदेखि सवारीको जोरबिजोर प्रणाली हट्ने छ। तर अझै केही समय ५० प्रतिशत बस मात्रै सञ्चालनमा ल्याउने साझाले जनाएको छ। उपत्यकामा यात्रुको संख्या न्यून रहेका कारण तत्काल शतप्रतिशत बस सञ्चालनमा ल्याउन नसकिने सुपरभाइजर मिश्रले बताए।
कतिपय चालक तथा सहचालक उपत्यका बाहिर रहेका कारण पनि बस सञ्चालनमा समस्या निम्तिएको साझाले जनाएको छ।