टाटाका गाडीहरूको मूल्य वृद्धि हुने सम्भावना बढेको छ। कम्पनीले सोमबार यसबारे संकेत दिएको हो। हालै सार्वजनिक ‘न्यु फरेभर’का नयाँ मोडलहरूको मूल्य वृद्धि हुने सम्भावना रहेको अटो हिन्दुस्तानले उल्लेख गरेको छ।
अटो हिन्दुस्तानका अनुसार टाटाका कार र एसयुभीको खरिद मूल्य बढ्ने भएको छ। यसमध्ये टियागो, टाइगोर, अल्ट्रोज, नेक्सन, ह्यारिअर र सफारीलगायत गाडी पर्ने छन्।
स्टिल र अन्य कच्चा धातुहरूको मूल्यमा लगातार वृद्धिका कारण गाडी उत्पादन लागत पनि बढेको कारण देखाउँदै कम्पनीले गाडीको मूल्य बढाउने संकेत गरेको हो।
अटो हिन्दुस्तानका अनुसार उक्त विषयमा आधिकारिक घोषणा गर्न भने बाकीँ रहेको कम्पनीले जनाएको छ।
टाटाले हालै मात्र यात्रुवाहक सवारी साधन सार्वजनिक गरेको छ। कम्पनीले मूल्य वृद्धि गरेसँगै उत्पादन बिक्रीमा भने असर देखिने अनुमान लगाइएको छ।
टाटाले मात्रै गाडीको मूल्य बढाउने संकेत दिएको होइन। गत साता होन्डाले पनि सोही कारण देखाउँदै आफ्नो चार पाङ्ग्रे सवारीको मूल्य अगस्टदेखि बढ्ने सम्भावना भएको बताएको छ।
त्यस्तै, मारुती सुजुकी, हिरो मोटोकर्प र मर्सिडिज–बेन्जलगायत अटो कम्पनीले पनि आफ्नो उत्पादनको मूल्य वृद्धि गर्ने घोषणा गरेको छ। केहीले भने गरिसकेका छन्।
मारुती सुजुकीले कारहरूको मूल्य यही जुलाईदेखि सेप्टेम्बर महिनाको त्रैमासिकमा बढाउने घोषणा गरेको छ। मर्सिडिज बेन्जले भने गत महिना मात्रै गाडीको मूल्य बढाएको छ।
हिरोमोटकर्पले पनि केही दिन अघि मात्रै आफ्नो गाडीहरूमा भारु ३ हजारले मूल्य वृद्धि गरेको छ।
कोरोना महामारीको दोस्रो लहरपछि अटो क्षेत्र बिस्तारै चल्मलाउँदै छ। तर कच्चा पदार्थ, पेट्रोल र डिजेलको मूल्य वृद्धिसँगै कम्पनीहरू आफ्नो उत्पादनको मूल्य बढाउन बाध्य भएका छन्।
भारतमा गाडीहरूको मूल्य बढेसँगै यसले नेपाली बजारमा पनि प्रत्यक्ष असर पार्नेछ।