टाटा मोटर्सले अल्ट्रोज, नेक्सन र नेक्सन विद्युतीय सवारीको ‘डार्क रेन्ज’ सार्वजनिक गरेको छ। कम्पनीले बुधबार यी तीन गाडीको डार्क रेन्ज भारतीय बजारमा सार्वजनिक गरेको हो। अटो हिन्दुस्तानका अनुसार डार्क रेन्जमा यी गाडीहरू अब भारतीय बजारमा बिक्रीको लागि उपलब्ध छ।
कम्पनीले ह्यारियरको डार्क–थिम संस्करणलाई पछ्याउँदै अल्ट्रोज र नेक्सनको ‘डार्क रेन्ज’ सार्वजनिक गरेको हो।
अल्ट्रोज डार्कको सुरुवाती बजार मूल्य भारु ८ लाख ७१ हजार तोकिएको छ भने नेक्सन डार्कको सुरुवाती मूल्य १० लाख ४० हजार तोकिएको छ। त्यस्तै नेक्सन इभी डार्कको मूल्य भने १५ लाख ९९ हजार तोकिएको छ। सन् २०१९ मै सार्वजनिक ह्यारियर डार्कको सुरुवाती बजार मूल्य भारु १८ लाख ४ हजार छ।
अल्ट्रोज डार्कका विशेषताः
टाटाले अल्ट्रोज डार्क नयाँ आवरणसँगै कालो रंगमा भित्र्याएको हो। यसमा १६ इन्चको अलोय ह्विल छ जसको रंग पनि कालै छ। गाडी भित्रको थिम रंग ग्रानाइड ब्ल्याक रंग टोनामा छ।
११९९ सिसीको इन्जिन क्षमता भएको यो गाडी दुई इन्जिन विकल्पमा उपलब्ध छ– १.२ एल रिभोट्रोन र १.२ एल आई–टर्बो। १.२ एल रिभोट्रोनले ६ हजार आरपिएममा ८६ पिएस पावर र ३,३००आरपिएममा ११३ एनएमको टर्क जेनेरेट गर्छ। त्यस्तै १.२ एल आई–टर्बोले ५,५०० आरपिएममा ११० पिएस पावर र १,५००–५५०० सय आरपिएममा १४० एनएमको टर्क जेनेरेट गर्छ।
नेक्सन डार्कका विशेषताः
‘नेक्सन डार्क’ कोइला रंगको छ। यसमा पनि अल्ट्रोज डार्कमा झैं १६ इन्चको अलोय ह्विल छ। यसको बाहिरी र भित्री आवरण निकै आकर्षक कालो रंगमा छ।
नेक्सन डार्क दुई इन्जिन विकल्पमा उपलब्ध छ– पर्ट्रोलबाट चल्ने १.२ एल रिभोट्रोन र डिजेलबाट चल्ने १.५ एल रिभोटर्क।
११ सय ९९ सिसीको इन्जिन क्षमता भएको १.२ एल रिभोट्रोनले ५ हजार ५ सय आरपिएममा १२० पिएस पावर र १,७५०– ४,००० आरपिएममा १७० एनएमको टर्क जेनेरेट गर्छ। त्यस्तै १४ सय ९८ सिसी क्षमता भएको १।५ एल रिभोटर्कले ४ हजार आरपिएममा ११० पिएस पावर र १,५००–२,७५० आरपिएममा १६० एनएमको टर्क जेनेरेट गर्छ।
नेक्सन डार्क एक्सजेड प्लस, एक्सजेडए प्लस, एक्सजेड प्लस (ओ) र एक्सजेडए प्लस९ (ओ) भेरियन्टमा उपलब्ध छ।
नेक्सन इभी डार्कका विशेषताः
टाटा नेक्सन इभी डार्क एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी भेरियन्टमा उपलब्ध छ। कम्पनीका अनुसार यी भेरियन्टहरूको बाहिरी आवरण प्रिमियम मिडनाइट ब्ल्यामामा हुनेछ। यसको अलोय ह्विल कोइला रंगको हुनेछ।
यसको ब्याट्री र मोटर क्षमता ३०.२ किलोवाट प्रति घण्टाको हुनेछ। दुई भेरियन्टमा उपलब्ध नेक्सन इभी डार्कले १ सय २९ पिएसको अधिकतम पावर र २ सय ४५ एनएमको टर्क जेनेरेट गर्छ।
कम्पनीले डार्क रेन्जका यी तीन मोडलहरूले राम्रो बजार लिने अपेक्षा राखेको छ।