टाटाको नयाँ नेक्सन विद्युतीय एसयुभीको बुकिङ यही जुलाई मध्यदेखि सुरू हुँदैछ छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेक्सन-इभी (इलेक्ट्रिक भेइकल) को बुकिङ खुलाउने भएको हो।
नेक्सन-इभी जिपट्रोन प्रविधिमा आधारित छ। कम्पनीले दाबी गरेअनुसार यसमा निकै टिकाउ ब्याट्री छ। एक पटक चार्ज गरेपछि गाडी बिना कुनै समस्या दुई सयदेखि दुई सय ५० किलोमिटरको दुरी गुड्छ। डिसीचार्जर प्रयोग गर्दा नेक्सन-इभीको ८० प्रतिशत चार्ज ६० मिनेटमै हुने कम्पनीको भनाइ छ।
सिप्रदी ट्रेडिङका अनुसार यसले छिट्टै देशका विभिन्न ठाउँमा चार्जिङ स्टेसन पनि जडान गर्नेछ। साथै यो विद्युतीय गाडी किन्ने ग्राहकको घरमै चार्जिङ व्यवस्था पनि मिलाइदिनेछ।
‘चार्जिङका लागि कुनै समस्या नहुने गरी हामी ग्राहकको घरमै चार्जिङ पोर्ट बनाइदिनेछौं,’ टाटा पेसेन्जर भेइकल बिजनेस युनिट, सेल्स तथा मार्केटिङ प्रमुख शावन्तजंग सिजापती भन्छन्, ‘ग्राहकलाई चाहिने आवश्यक पूर्वाधार, ब्याट्रीको वारेन्टी, सेवा प्याकेजलगायत सेवा दिन्छौं।’
उनका अनुसार देशका कुन-कुन ठाउँमा चार्जिङ स्टेसन राख्ने भन्ने विषयमा टाटा मोटर्ससँग पनि छलफल भइरहेको छ।
नेक्सन-इभी भारतीय बजारमा सन् २०२० को जनवरीबाट बिक्री तथा वितरण सुरू भएको हो। यसले छोटो समयमै भारतीय बजारमा लोकप्रियता कमाएको छ। हालसम्म भारतीय विद्युतीय गाडी बजारमा ७० प्रतिशत हिस्सा यसैले ओगट्न सफल भएको कम्पनीले दाबी गरेको छ।
नेक्सन-इभी तीन भेरियन्टमा उपलब्ध हुनेछः नेक्सन-इभी एक्सएम, एक्सभी प्लस र एक्सजेड प्लस एलयुएक्स।
तीनै भेरियन्ट तीन/तीन रङमा नेपाली बजार प्रवेश गर्नेछन्- निलो, सेतो र सिल्भर।
वितरक सिप्रदीका अनुसार गाडी बुकिङपछि यसको डेलिभरी यही सेप्टेम्बरसम्ममा हुनेछ।
‘पहिलो लटमा आउने बुकिङका गाडी दसैंअघि डेलिभरी गरिसक्नेछौं,’ प्रमुख सिजापतीले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा कति वटा गाडी भित्रिन्छ भन्ने निश्चित गर्न बाँकी छ।
यो विद्युतीय गाडी वातावरणमैत्री हुनुका साथै कम्पनीले यसको सुरक्षामा पनि विशेष ध्यान पुर्याएको बताएको छ। गाडीको सुरक्षा मापन गर्दे ग्लोबल एनक्याप रेटिङका अनुसार नेक्सन-इभीमा सुरक्षाका लागि अत्याधुनिक प्रविधि जडान गरिएको छ। दस लाख किलोमिटर दुरी तथा चुनौतीपूर्ण सडकमा यसको सफलतापूर्वक परीक्षण भइसकेको कम्पनीले जनाएको छ।
नेक्सन-इभी ‘इम्प्याक्ट डिजाइन २.०' अवधारणा अन्तर्गत तयार पारिएको छ। गाडीको भित्री भाग फराकिलो छ। यसमा ध्वनि प्रदूषण नियन्त्रण गर्न सक्ने व्यवस्था छ। सात इन्चको हर्मन इन्फोटेन्मेन्ट प्रणाली भएको नेक्सन-इभीमा एन्ड्रोइड अटो र एप्पल प्ले पनि प्रयोग गर्न सकिन्छ।
३०.२ केडब्लुएचको उच्च क्षमतायुक्त लिथियम आयोन ब्याट्री भएको यो गाडीको टर्क क्षमता २ सय ४५ एनएम छ।
नेक्सन-इभीले ९.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा लिन सक्छ। ड्राइभ र स्पोर्ट्स गरी दुई ‘ड्राइभ मोड’ भएको यो गाडी ट्राफिक जाम तथा उकालो बाटोमा उपयुक्त हुने कम्पनीको भनाइ छ।