हिरो विद्युतीय सवारीले सन् २०२५ सम्ममा आफ्नो व्यापार विस्तार गर्दैछ। यसको लागि कम्पनीले भारु ७ सय करोड लगानी गर्ने घोषणा गरेको छ।
विस्तार योजनाअन्तर्गत नयाँ निर्माण इकाईको स्थापना गर्ने काम हुनेछ। जसको लागि मात्रै कम्पनीले भारु २ करोड २० लाख संकलन गरेको अटो हिन्दुस्तानले लेखेको छ।
कम्पनीले सन् २०२५/२०२६ सम्ममा वार्षिक १० लाख युनिट सवारी बनाउन सक्ने क्षमता भएको निर्माण सुविधा पनि स्थापना गर्ने योजना बनाएको छ। कम्पनीको लुधियानास्थित प्लान्टमा अहिले वार्षिक ७५ हजार युनिट सवारी निर्माण हुँदैछ। यसको क्षमता वृद्धि गर्दै वार्षिक ३ लाख युनिट सवारी निर्माण गर्ने लक्ष्य राखेको छ।
योसँगै कम्पनीले अनुसन्धान र विकास (आर एन्ड डी), मार्केटिङ, यसको आपूर्ति श्रृंखला र सेवा नेटवर्क विस्तार गर्दै डिलर नेटवर्क र चार्ज स्टेशनहरू बढाउँदै छ।
यतिबेला बजारमा विद्युतीय दुई पाङ्ग्रे सवारीको माग बढ्दैछ। हिरो विद्युतीय सवारीका प्रबन्ध निर्देशक नवीन मुन्जलका अनुसार बढ्दो मागलाई सम्बोधन गर्दै कम्पनीले उत्पादन सुविधा चाँडै विस्तार गर्दै वास्तविकतामा परिणत गर्ने बताउँछन्।
'पछिल्लो केही वर्षमा विद्युतीय सवारीको बजारमा निकै ठूलो परिवर्तन आएको छ,' प्रबन्ध निर्देशक नवीनले भने, 'महामारी बाबजुत अहिलेका नीतिहरू बजार विस्तारको लागि निकै अनुकूल छन्। कम्पनीले दुई गुडा बढी रफ्तारमा काम गर्ने अनुमान गरेका छौं। हिरोको लक्ष्य भनेको अबको केही वर्षदेखि वार्षिक १० लाख युनिट सवारी बिक्री गर्ने हो।'
कम्पनीले यसको लागि गल्फ इसस्लामपक इन्भेस्टमेन्ट (जिआइआई) को नेतृत्वमा भारु २ सय २० करोडको श्रृङ्खला बी कोषको भाग १ को रूपमा नयाँ पुँजी जुटाएको छ।
अटो हिन्दुस्तानका अनुसार कम्पनी प्रबन्ध निर्देशक नवीनले हिरो विद्युतीयको बजार विस्तारको तयारीमा जोड दिएका छन्। हिरो मोटोकर्प लिमेटेड भारतीय मल्टिनेसनल मोटरसाइल र स्कुटर निर्माण कम्पनी हो। विगत लामो समयदेखि हिरोका बाइकले नेपालमा समेत राम्रो बजार पाएको छ।