मारुती सुजुकीका गाडीहरूको मूल्य बढेको छ। भारतीय बजारको लागि कम्पनीले सोमबार आफ्नो विभिन्न मोडलमा मूल्य वृद्धि गरेको हो। कम्पनीले सो मोडलहरूमा सोमबारदेखि लागु हुनेगरी भारु १५ हजारसम्मले वृद्धि गरेको अटो हिन्दुस्तानले लेखेको छ।
कम्पनीले आफ्नो लोकप्रिय मोडल स्विफ्ट र सिएनजी (इन्धनद्वारा चल्ने गाडी)को मूल्य वृद्धि गरेको हो। अटो हिन्दुस्तानका अनुसार कम्पनीले मूल्य बढाउनुको कारण पेट्रोल र डिजेलको मूल्य वृद्धि हुनु र उत्पादन लागत बढ्नु बताएको छ।
विभिन्न गाडी निर्माण कम्पनीले आफ्नो गाडीको मूल्य वृद्धि गरेको छ। धेरैले उत्पादन लागत नै महंगो भएपछि गाडीको बिक्री मूल्य बढाउनु परेको कारण देखाएका छन्। गत साता मात्रै मारुती सुजुकीले पनि कारहरूको मूल्य यही जुलाईदेखि सेप्टेम्बर महिनाको त्रैमासिकमा बढाउने घोषणा गरेको थियो।
सुजुकीसँगै होन्डाको चार पाङ्ग्रे, मर्सिडिज (बेन्ज, हिरो मोटोकर्प)लगायतले केहि साताअघि नै आफ्नो उत्पादनको मूल्य वृद्धि गरेको छ। टाटा मोटर्सले पनि गाडीको मूल्य बढाउन सक्ने सम्भावना व्यक्त गरेको थियो।
सुजुकीले स्विफ्ट र सिएनजीसँगै अन्य मोडलको समेत मूल्य वृद्धि गर्ने योजना बनाएको अटो हिन्दुस्ताले लेखेको छ। मारुती सुजुकी भारतको सबैभन्दा बढी गाडी निर्माण गर्ने कम्पनी हो।
नेपालमा समेत सुजुकीको चार पाङ्ग्रे लोकप्रिय छ। भारतमा यसको मूल्य वृद्धिसँगै नेपालमा पनि असर पर्नेछ। तर नेपाली बजारमा मूल्य परिवर्तन तत्काल नभइ केही समयपछि मात्रै हुने नेपालको लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पको भनाइ छ।