सात बुँदे मागसहित मंगलबार यातायात व्यवसायीहरुले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन्।
धर्नाका क्रममा उनीहरुले नारावाजी समेत गरेका थिए। आम्दानी छैन बैंक किस्ता र राजस्व तिर्ने छैन, बैंकको ज्यादती बन्द गर, निषेधाज्ञा अवधिभरको विमा पूर्ण रुपमा छुट गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
व्यवसायीहरुले यो क्षेत्रमा रहेकालाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने र मौद्रिक नीतिमा व्यवसायीको समस्यालाई समावेश गरिनुपर्ने माग राखेका हुन्।
यससँगै यातायातको विमा छुट समायोजन गर्नुपर्ने, सडक कानुन लागु गर्नुपर्ने, यातायातको कागजपत्र नविकरण र जरिवाना छुट गर्नुपर्ने तथा ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने पनि माग गरेका छन्।
आफुहरुको माग सम्बन्धित विभिन्न निकायसमक्ष पटक–पटक राख्दा पनि सम्बोधन नभएकाले आन्दोलनमा आउनुपर्ने बाध्यता भएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष दोलनाथ खनालले बताए।
उनले सरकारले यातायात व्यवसायीको समस्या समयमै बुझेर सम्बोधन गर्नुपर्नेमा जोड दिए।
यातायात व्यवसायीले लकडाउनको कारण व्यवसाय नै धरापमा परेको भन्दै सरकारले विशेष राहत दिनुपर्ने बताउँदै आएका थिए।