बेनेली इन्डियाले सन् २०२२ को अन्त्यसम्मा तीन नयाँ मोडल सार्वजनिक गर्ने भएको छ। इटालियन सुपरबाइक निर्माण कम्पनी बेनेलीले भारतमा यही वर्षको अन्तिमसम्मा आफ्नो पोर्टफोलियोमा तीन वटा नयाँ भेरियन्ट थपेर बिक्री वितरण सुरू गर्ने बताएको अटो हिन्दुस्तानले लेखेको छ।
कम्पनीका प्रबन्ध निर्देशक विकास झबाखका अनुसार उक्त भेरियन्टमा बेनेलीको ५०२ सी पावर क्रुसर पनि समावेश हुनेछ। जसको लागि कम्पनीले हालै पूर्व–बुकिङ सुरु गरेको छ। यो बाइक यही महिनाभित्र सार्वजनिक हुने अनुमान लगाइएको छ।
अहिले बेनेलीको भारतको पोर्टफोलियोमा ५०० सिसीभन्दा माथिका तीन वटा मोडलका बाइहरू छन्ः टिआरके ५०२, टिआरके ५०२ एक्स र लियोनसिनो। यी मोडलसँगै ३७४ सिसीको इम्पेरियल पनि छ।
कम्पनीका अनुसार भारतीय बजारको लागि कम्पनीले २५० देखि ५०० सिसीका बाइक मोडलमा बढी ध्यान पुर्याउँदैछ। कम्पनीका प्रबन्ध निर्देशक विकासकाअनुसार वर्तमान समय भारतमा १२५ सिसी र १५० सिसीको बाइक रुचाउने ग्राहक बढी छन्।
१२५ देखि १५० सिसीका बाइकहरू भारु १ लाखदेखि १ लाख ६० हजारसम्ममा उपलब्ध छ। योभन्दा महंगोमा ग्राहकले २ देखि ५ लाखसम्ममा बाइक किन्न रुचाउँछन्। 'अहिले ८ देखि १० लाखको बाइकमा लगानी गर्ने निकै कम ग्राहक छन्। तर अबको दुई वर्षपछि २५० देखि ५०० सिसीको बाइक रोज्ने ग्राहक बढ्नेछ। कम्पनीले यसैलाई आधार बनाउँदै आफ्नो काम अघि बढाएको हो', उनले भने।
उनका अनुसार कम्पनीले वार्षिक रूपमा यी सेग्मेन्टका बाइक ३० हजार युनिटसम्म उत्पादन गर्दै आएको छ। भारतमा बेनेलीको उत्पादन तथा निर्माण हेद्राबादमा हुन्छ।
नेपालमा पनि बेनेलीका विभिन्न मोडलले राम्रो बजार पाइरहेको छ। नेपालमा बेनेलीका टिएनटी १३५, टिएनटी १५० आई, ७२५ एस, ३०२ एस, १८० एस, टिआरके २५१, लियोनसिनो २५१, टिएनटी ६०० आइलगायत विनिन्न मोडलका बाइकहरू उपलब्ध छन्।