भोलि फोर्डको सबैभन्दा लोकप्रिय मोडल ह्याचब्याग फिगोको नयाँ संस्करण सार्वजनिक हुँदैछ। कम्पनीले ह्याचब्याग फिगोको नयाँ संस्करण भारतमा बिहीबार सार्वजनिक गर्ने अटो हिन्दुस्तानले लेखेको छ।
फिगो ह्याचब्याग (गाडीको पछाडिको सिट र कार्गो स्पेसबीच कुनै विभाजन नहुने)को नयाँ भर्सनमा अटमेटिक गियरबक्स हुनेछ। फोर्ड इन्डियाले नयाँ संस्करण सार्वजनिक हुने मिति घोषणा गर्दे सोमबार केहि फोटो र टिजर भिडिओ पनि सार्वजनिक गरेको थियो। जस अनुसार गाडी जुलाई २२ मा सार्वजनिक हुने पक्का छ।
झट्ट हेर्दा २०२१ फिगो अटोमेटिकमा पुरानो संस्करणको फिगोभन्दा धेरै फरक देखिदैन। फोर्डले पहिलो पटक सन् २०१० मा फिगो सार्वजनिक गरेको हो। फिगो २०२१ को बाहिरी आवरणमा उत्ति परिवर्तन नभएपनि यसको अलोय ह्विलमा भने केहि परिवर्तन देख्न सकिने अटो हिन्दुस्तानले जनाएको छ।
नयाँ फिगो पहिले झैं पेट्रोल र डिजेल भेरियन्टमा उपलब्ध हुनेछ। यो ५ सिटर गाडी हो।
गाडीको इन्जिन बिएस ६ कम्प्लियन्ट १.२ लिटर टिआई–भिसिटी पेट्रोल र बिएस ६ कम्प्लियन्ट १.५ लिटर टिडीसिआई डिजेल इन्जिनमा उपलब्छ हुनेछ। पेट्रोल इन्जिनले अधिकतम ९५ बिएचपी र ११९ एनएमको टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ९९ बिएचपी पावर र २१५ एनएमको टर्क जेनेरेट गर्छ।
गाडीमा ६ एयरब्याग, पुस बटन स्टार्ट, टच स्क्रिन विथ न्याभिगेसन, रिअर भ्यू क्यामरा, अटोमेटिक हेडल्याम्प, डुअल टोन रुफ, १५ इन्चको अलोय ह्विल, रेन सेन्सिङ वाइपरलगायत विशेषताहरू छन्।
बजारमा उपलब्ध फिगोको सुरुवाती मूल्य भारु ५ लाख ८२ हजार तोकिएको छ। भेरियन्ट र विशेषताअनुसार गाडीको मूल्य ८ लाख ३७ हजारसम्मको छ। अटो हिन्दुस्ताका अनुसार फिगोको नयाँ संस्करणको मूल्यमा ५० हजारले वृद्धि हुने सम्भावना बढी छ। कम्पनीले गाडीमा गियरबक्स बाहेक अरू नयाँ विशेषताहरू थग गरेसँगै गाडीको मूल्य पनि बढ्नेछ।
फोर्ड फिगो २०२१ ले बजारमा मारुती सुजुकीको स्विफ्ट, हुन्डाईको ग्य्रान्ड आई १० र भोल्सव्यागन पोलो ह्याचब्यागसँग प्रतिस्पर्धा गर्ने बताइएको छ।