पछिल्लो समय भारतीय बजारमा ओलाको विद्युतीय स्कुटर चासोको विषय बनेको छ। भारतको ट्याक्सी कम्पनी ‘ओला’ले सार्वजनिक गर्न लागेको ओला विद्युतीय स्कुटर प्रतिक्षित विद्युतीय स्कुटर हो भन्दा फरक पर्दैन। यो स्कुटरबारे बेलाबेला विभिन्न रिपोर्ट र विशेषताहरू बाहिरिरहेका छन्।
हालै भने ओला १० फरक रंगमा सार्वजनिक हुने बताइएको छ। तीमध्ये कालो, सेतो, निलो र रातो रंगमा स्कुटर सार्वजनिक हुने पक्का भएको अटो हिन्दुस्तानले जनाएको छ। यसबाहेक अन्य ६ रंग कुन–कुन हुनेछन् भन्ने सार्वजनिक हुन बाकीँ नै छ।
कम्पनीले गत सातादेखि आफ्नो आधिकारिक वेवसाइटबाट बुकिङ समेत खुलाएको छ। अटो हिन्दुस्तानका अनुसार बुकिङ खुलाएको २४ घण्टा मै स्कुटरको लागि १ लाख बढी बुकिङ भएको थियो।
ओलाले आफ्नो विद्युतीय स्कुटर विभिन्न रंगमा सार्वजनिक गरेसँगै कम्पनीको मार्केटिङ रणनीतिबुझ्न सकिन्छ। यसले हरेक वर्ग र उमेरका उपभोक्तालाई आफ्नो ग्राहक बनाउने लक्ष्य राखेको छ।
स्कुटरको बाहिरी आवरण आकर्षक छ। यसमा एलइडी लाइट, धेरै बुट स्पेस, एप–बेस्ड किलेस एसेस (एप कै भरमा स्कुटरलाई स्टार्ट गर्न सकिने), डुअल प्रोजेक्टर हेडल्याम्प, सामान राख्न हुक, सिंगल पिस सिट, एक्स्टर्नल चार्जिङ पोर्ट, एलइडी डिआरएल र टेल–लाइटलगायत विशेषताहरू छन्। कम्पनीले यो स्कुटरमा अन्य विद्युतीय स्कुटरको तुलनामा धेरै र नयाँ विशेषताहरू भएको दाबी गरेको छ।
ओलाको यो विद्युतीय स्कुटर यहीँ जुलाईको अन्तिमसम्ममा सार्वजनिक गरिने बताइएको छ। यो स्कुटर विभिन्न रंग विकल्पसँगै दुई भेरियन्टमा सार्वजनिक हुने अनुमान लगाइएको छ।
स्कुटरले एक पटकको पुरा चार्जमा १०० देखि १५० किलोमिटरको माइलेज दिन्छ। ओलाको यो विद्युतीय स्कुटरले बजारमा भएको बजाज चेतक र टिभिएस आइक्युबलगायत अन्य स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ। यो स्कुटर भारतमा सार्वजनिक भएसँगै विभिन्न देशमा निर्यात पनि हुने कम्पनीको भनाइ छ।
ओला विद्युतीय स्कुटरको मूल्य नतोकिए पनि यसको बजार मूल्य भारु १ लाख २० हजारदेखि १ लाख ४० हजारसम्म हुने अनुमान लगाइएको छ।