काठमाडौंका यातायात व्यवसायीहरूले आफ्नो सवारीको चाबी सरकारलाई बुझाएका छन्।
आइतबार काठमाडौं जिल्लाका सिडिओ कालीप्रसाद पराजुलीमार्फत चाबी सरकारलाई बुझाइएको सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले बताए।
‘हामीले विभिन्न सात बुँदे माग अघि सारेका थियौं। मागको सम्बोधन नभएपछि चाबी बुझाएका हौं,’ उनले सेतोपाटीसँग भने।
बिहीबार उनीहरूले माग पूरा नभएकाले चक्रपथमा सवारी साधनको र्याली निकालेर विरोध गरेका थिए।
व्यवसायीहरूका माग यस्ता छन्ः
- एउटै प्रदेशभित्र चल्ने गाडीहरूको भाडा समायोजन हुनुपर्ने।
- यातायात क्षेत्रमा रहेकालाई कोभिड–१९ विरूद्धको खोप लगाइनुपर्ने।
- यातायातको भाडा समायोजन गर्नुपर्ने।
- यातायातको बीमा छुट समायोजन गर्नुपर्ने।
- सडक कानुन लागू गर्नुपर्ने।
- यातायातको कागजपत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने।
- ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने।
चाबी बुझाएपछि पनि माग पूरा नभए दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने व्यवसायीहरूले बताएका छन्।