नेपाली बजारमा स्कोडाको 'कुशाक' कार भित्रिँदैछ। नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यही साता कुशाक एसयुभी ल्याउने भएको हो। कम्पनीले गाडीको बुकिङ भने केही साताअघि नै खुला गरिसकेको छ।
कुशाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयुभी रहेको कम्पनीको भनाइ छ। यो पाँच सिट भएको एसयुभी हो जसका विशेषता र क्षमताले गर्दा नेपाली बजारका लागि प्रतिक्षित गाडी बनेको छ।
कुशाक स्कोडाको इन्डिया २.० प्रोजेक्टअन्तर्गत सार्वजनिक गरिएको पहिलो एसयुभी हो। नेपाली बजारमा १.० लिटरको टिएसआइ पेट्रोल इन्जिन भएका कुशाक भित्रिने छ। ९९९ सिसी क्षमताको इन्जिनले ११५ बिएचपी पावर र १७.८ एनएम टर्क जेनेरेट गर्छ। टिएसआइ इन्जिन म्यानुअल र अटोमेटिक दुवैमा उपलब्ध हुनेछ।
गाडीको बाहिरी आवरण आकर्षक र 'स्मुथ' छ। यो ४२२५ मिमी लामो, १७६० मिमी चौडा र १६१२ मिमी अग्लो छ। गाडीको ह्विलबेस २६५१ मिमि छ जुन यो संस्करणमध्ये सबभन्दा बढी भएको कम्पनीको दाबी छ।
त्यस्तै कुशाकको ग्राउन्ड क्लियरेन्स १८८ मिमी छ। कच्ची बाटोमा समेत गाडीलाई सहजै चलाउन सकिने कम्पनीले जनाएको छ। यसमा १७ इन्चको अलोय ह्विल छ।
कुशाकमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सब-वुफरसहितको सिक्स स्पिकर पनि रहेको कम्पनीले जनाएको छ।
टु–स्पोक स्टेरिङ ह्विल, इलेक्ट्रिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम, मल्टिफंसन स्टेरिङ, हिल्ड होल्ड कन्ट्रोल, कि-लेस इन्ट्री स्टार्ट र एक्जिट सिस्टमलगायत विशेषता कुशाकमा छन्।
गाडीमा सुरक्षाका लागि छ वटा एअरब्याग, रियर पार्किङ क्यामरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प एन्ड वाइपर, मल्टिकोलिजन ब्रेकिङ सिस्टम पनि छ। गाडीमा फ्रन्ट डिस्क ब्रेक र रियर ड्रम ब्रेक छ।
नेपाली बजारमा स्कोडा कुशाक पाँच रङ उपलब्ध हुने बताइएको छ- क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनी ओरेन्ज र टोर्नाडो रेड।
आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले यसको मूल्य ४९ लाख ९० हजार रूपैयाँदेखि सुरू हुने बताएको छ।