रोयल इन्फिल्डको मिटियोर ३५० सार्वजनिक भएको छ। नेपालको लागि रोयल इन्फिल्डको आधिकारिक विक्रेता एम भी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रा।लिले बुधबार उक्त बाइक सार्वजनिक गरेको हो।
क्रुशर सिरिजअन्तर्गतको नयाँ मोडलका बाइक मिटियोर ३५० तीन भेरियन्टमा उपलब्ध हुनेछः फायर बल, स्टेलर र सुपर नोभा। फायर बल पहेंलो र रातो रंगमा उपलब्ध हुनेछ। स्टेलर भेरियन्ट निलो, रातो र कालो रंगमा उपलब्ध हुनेछ भने सुपर नोभा खैरो र निलो रंगमा उपलब्ध हुनेछ।
मिटियोर ३५० सिसी क्रुसर सिरिजको बाइक हो, जसमा जे सिरिजको एयर कुल्ड, एसओएचसी इन्जिन हुनेछ। यसमा ३४९ सिसीको सिंगल इन्जिन जडान गरिएको छ। जसले ६ हजार १ सय आरपिएममा २०.२ बिएचपी पावर र ४ हजार आरपिएममा २७ एनएमको टर्क जेनेरेट गर्छ। इन्धनको कार्यशकुशलताको लागि यसमा विद्युतीय फ्युल इन्जेक्सन राखिएको छ। बाइकमा सुरक्षाको लागि डुअल च्यानल एबिएस छ। यो बिएस ६ संस्करणअन्तर्गत निर्माण भएको बाइक हो।
नयाँ मोडलको रोयल इन्फिल्डलाई गुगल म्यापसँग कनेक्ट गर्न सकिन्छ। त्यस्तै यसमा मोबाइल चार्जको लागि चार्जिङ पोर्ट पनि समावेश गरिएको छ।
कम्पनीले मिटियोर ३५०को फायर बल भेरियन्टको सुरुवाती मूल्य ६ लाख रुपैयाँ तोकेको छ। त्यस्तै स्टेलरको मूल्य ६ लाख १७ हजार तोकेको छ भने सुपर नोभाको मूल्य ६ लाख ४५ हजार तोकेको छ।
मिटियो ३५० रोयल इन्फिल्डको १९ वटै शाखाबाट बिक्री तथा वितरण हुनेछ।