नाडाका उपाध्यक्ष करण चौधरीसहित सात सदस्यीय नाडा प्रतिनिधिले नव नियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेका छन्।
प्रतिनिधि मण्डलले सफल कार्यकालको शुभकामना दिँदै अटोमोवाइल क्षेत्रमा संलग्न व्यवसायी, कर्मचारी, टेक्निसियन र श्रमिकको लागि खोप उपलब्ध गराउने विषयमा छलफल गरेको नाडाले बताएको छ।
भेटघाटमा नाडाका उपाध्यक्ष चौधरीले कोभिड–१९ को कारण नेपालको समग्र अटोमोवाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव अटोमोवाइल क्षेत्रबाट जम्मा हुने राजश्वमा परेको बताए।
निषेधाज्ञा केही खुकुलो भए पनि अटोमोवाइल क्षेत्रमा फ्रण्टलाईनमा बस्ने कर्मचारी र श्रमिकहरुलाई धेरै समस्या भएको धारण राखे।
छलफलमा प्रतिनिधि मण्डलले खोप नै विकल्प भएको हुँदा तत्काल उपलब्ध गराउन आग्रह गरेको छ।
राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयास गर्ने आश्वासन दिए।
प्रतिनिधि मण्डलले स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालसँग पनि छलफल गरेर आवश्यक खोप उपलब्ध गराई दिन अनुरोध गरेको थियो।