रेनोको ‘राइड विथ काइगर’ र्याली सम्पन्न भएको छ। नेपालको लागि रेनोको आधिकारिक वितरक एडभान्स अटोमोबाइल प्रालीले शुक्रबार टेकुको रेनो सर्भिस सेन्टरदेखि भक्तपुर र बनेपाको शोरूम हुँदै धुलिखेलको मिराबेल रिसोर्टमा पुगेर र्याली सम्पन्न गरेको हो।
रिसोर्टमा कम्पनीले छोटो कार्यक्रम पनि आयोजना गरेको थियो। जहाँ रेनोको नयाँ काइगरको विशेषता र यसको प्रदर्शनबारे प्रस्तुतीकरण थियो।
त्यस्तै कार्यक्रममा उपस्थित सहभागीहरूलाई टेस्ट राइडको पनि व्यवस्था मिलाइएको थियो। काइगर हालै बजारमा सार्वजनिक भएको रेनोको नयाँ मोडल हो। यो चार ट्रिममा उपलब्ध हुनेछ। (आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेड।
कार्यक्रममा एडभान्स्ड अटोमोबाइल्सका जेनरल म्यानेजर अधिर कुमार श्रेष्ठले भने, ‘काइगरका राइडरहरू सधैं उत्साही र साहसिक हुनेमा हामी विश्वस्त छौं। काइगर एक एसयुभी हो जुन हरेक किसिमको भूभागमा राइडको नयाँ अनुभूति प्रदान गर्नेछ।’
नयाँ काइगर सिएमएफ–ए प्लस प्लेटफर्ममा विकसित भएको चार मिटरको एसयुभी हो। यसलाई तीन मोडमा चलाउन सकिन्छः सामान्य, इको र स्पोर्ट मोड। यसमा एबिएस, इबिडी ब्रेक्रिङ प्रविधि छन् भने चार वटा एयरब्याग छन्। कम्पनीले गाडीमा सुरक्षा प्रविधिलाई विशेष ध्यान पुर्याएको छ।
यसमा भएको १.० लिटरको नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बिएचपी पावर र ९६ न्युटन मिटरको टर्क उत्पन्न गर्छ। यो एसयुभीमा एलइडी हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि, भ्वाइस रेक्निसन प्रविधि, वायरलेस फोन चार्जर, अटो एसीलगायतका विशेषताहरू छन्। त्यस्तै यसमा १६ इन्चको अलोय ह्विल छ। गाडीमा ४०५ लिटरको बुट स्पेस छ।
६ वटा रंगको विकल्पमा उपलब्ध काइगरको मूल्यको कम्पनीले २८ लाख ४९ हजार देखि ३७ लाख ६९ हजार सम्म तोकेको छ।