ओलाको विद्युतीय स्कुटर भारतमा यही महिना सार्वजनिक हुने भएको छ। कम्पनीका सिइओ भविष अग्रवालले मंगलबार ट्विटरमार्फत स्कुटर आउने अगस्ट १५ मा सार्वजनिक हुने जानकारी गराएका हुन्। पछिल्लो समय भारतीय बजारमा ओलाको यो विद्युतीय स्कुटर निकै चासोको विषय बनेको छ।
कम्पनीले भारतको ७५औं स्वतन्त्रता दिवसको अवसर पारेर आफ्नो उत्पादन सार्वजनिक गर्न लागेको हो। ओलाको यो विद्युतीय स्कुटरको लागि बुकिङ खुलाएको २४ घण्टामै एक लाख बढी बुकिङ भएको अटो हिन्दुस्तानले लेखेको थियो। यसले पनि स्कुटर भारतीय बजारको प्रतिक्षित स्कुटर रहेको बुझ्न सकिन्छ।
अटो हिन्दुस्तानका अनुसार ओला १० फरक रंगमा सार्वजनिक हुनेछ।
स्कुटरको बाहिरी आवरण आकर्षक छ। यसमा एलइडी लाइट, धेरै बुट स्पेस, एप–बेस्ड किलेस एसेस (एपकै भरमा स्कुटरलाई स्टार्ट गर्न सकिने), डुअल प्रोजेक्टर हेडल्याम्प, सामान राख्न हुक, सिंगल पिस सिट, एक्स्टर्नल चार्जिङ पोर्ट, एलइडी डिआरएल र टेल–लाइटलगायत विशेषताहरू छन्। कम्पनीले यो स्कुटरमा अन्य विद्युतीय स्कुटरको तुलनामा धेरै र नयाँ विशेषताहरू भएको दाबी गरेको छ।
त्यस्तै स्कुटरले एक पटकको पुरा चार्जमा १०० देखि १५० किलोमिटरको माइलेज दिन्छ। ओला विद्युतीय स्कुटरको उत्पादन तमिल नाडुमा हुँदैछ। सो उत्पादन कारखानाबाट वार्षिक १ करोड युनिट स्कुटर उत्पादन गर्ने क्षमता राखेको अटो हिन्दुस्तानले जनाएको छ।
ओलाको विद्युतीय स्कुटरको मूल्य भारु १ लाख हुने अनुमान लगाइएको छ।