जिपले सन् २०२३ सम्ममा आफ्नो पहिलो विद्युतीय एसयुभी सार्वजनिक गर्ने भएको छ। पछिल्लो समय अटो क्षेत्रमा विद्युतीय सवारी निर्माणको प्रतिस्पर्धा बढ्दो छ। कम्पनीले केही समयअघि मात्रै आफ्नो उत्पादनमा विद्युतीकरणलाई जोड दिने बताएको थियो।
अटो हिन्दुस्तानका अनुसार बिहिबार भने अमेरिकी अटो निर्माण कम्पनी जिपले सन् २०२३ मै आफ्नो पहिलो विद्युतीय गाडी सार्वजनिक गर्ने बताएको हो।
भविष्यमा सार्वजनिक हुने नयाँ विद्युतीय एसयुभीमा रिमोट भेहिकल ट्रयाकिङ, सेल्फ ड्राइभिङ प्रविधि (स्वचालित प्रविधि) लागयत विशेषताहरू हुनेछ।
त्यस्तै यसमा मल्टी–पावर पोर्ट, गाडी खोल्न बायोमेट्रिक फेस रिकग्निसन, कच्ची बाटोलाई उपयुक्त हुने सानदार टायर प्रेसर, एउटा गाडीबाट अर्को गाडीमा चार्जिङ कनेक्ट गर्न सकिने प्रविधि र गाडीलाई ड्रोनसँग पनि कनेक्ट गर्न सकिने विशेषताहरू समेत हुने बताइएको छ।
जिपको प्यारेन्ट कम्पनी स्टेलान्टिसले नै अबको दुई वर्षमा कम्पनीले २१ वटा नयाँ विद्युतीय गाडी सार्वजनिक गर्ने घोषणा गरेको हो। स्टेलान्टिस संसारको चौथो सबैभन्दा ठूलो अटो निर्माण कम्पनी हो।
कम्पनीका अनुसार सन् २०२५ सम्ममा आफ्नो उत्पादनलाई विद्युतीकरण गर्न ३५.५ बिलियन डलर लगानी गर्दैछ। सन् २०२५ सम्ममा जिपको सम्पूर्ण उत्पादनमध्ये ७० प्रतिशत गाडीलाई विद्युतीकरण गर्ने योजना छ।
जिपले आफ्नो कुन मोडलको एसयुभी सुरुमा विद्युतीकरण गर्नेछ भन्ने सार्वजनिक हुन बाकीँ छ। तर हालै यसले र्याग्लर मोडलमा विद्युतीय कन्सेप्ट देखाउँदै भिडिओ सार्वजनिक गरेको छ।
यसबाहेक कम्पनी ग्य्राण्ड चेरोकीको निर्माणमा लागेको छ। जुन सन् २०२१ को अन्तिमसम्ममा सार्वजनिक हुने अनुमान लगाइएको छ।
नेपालमा पनि जिपले आफ्नो बजार विस्तार गर्दैछ। केही साताअघि मात्र जिपको नयाँ कम्पास मोडल नेपाली बजारमा सार्वजनिक भएको छ।