बजारमा १२५ सिसीका नयाँ स्कुटरहरूको प्रतिस्पर्धा बढ्दो छ। विभिन्न कम्पनीका नयाँ मोडलका स्कुटर सार्वजनिक हुने क्रम तीव्र छ। यही सिलसिलामा होन्डाले पनि आफ्नो नयाँ स्कुटर सार्वजनिक गरेको छ।
होन्डाले पछिल्लो प्रविधि 'बिएस-६' मापदण्ड भएको नयाँ ग्राजिया- १२५ स्पोर्ट्स एडिसन सार्वजनिक गरेको हो। यसअघिका ग्राजिया बिएस-४ मापदण्डका थिए। त्यसको तुलनामा बिएस-६ ग्राजियामा कम्पनीले डिजाइनदेखि पफर्मेन्ससम्म अपग्रेड गरेको छ।
ग्राजिया-१२५ स्पोर्ट्स एडिसनको बाहिरी लुक्स आकर्षक छ। अनि यसका थुप्रै उपयोगी विशेषताहरू छन् जसले यसलाई स्पोर्टी बनाएको छ।
स्टाइलिस, स्पोर्टी र बोल्ड छ। यसको अगाडि भागमा स्प्लिट एलइडी पोजिसन ल्याम्प र हेडल्याम्प छ। त्यो भन्दामाथि पाइलट एलइडी ल्याम्प पनि छ जुन यो नयाँ ग्राजियामा थपिएको नयाँ फिचर हो। स्कुटरको पछाडि भागमा एलइडी टेल लाइट छ जसले दिने उज्यालो पनि चहकिलो छ। स्कुटरमा कार्बन फाइबर फिनिसिङ पाउन सकिन्छ।
१२४ सिसी डिस्प्लेसमेन्ट भएको यो स्कुटरमा फ्यान कुल्ड, एफआइ इन्जिन जडित छ। यसले ६ हजार आरपिएममा अधिकतम ८.२५ पिएस पावर र ५ हजार आरपिएममा १०.३ एनएमको टर्क जेनेरेट गर्छ।
स्कुटरमा बस्ने सिट फराकिलो र सजिलो छ। सामान राख्न १८ लिटरको डिकी छ। अगाडि भागमा पनि केही सामान राख्न मिल्नेगरी ठाउँ पुग्छ भने साना झोला यसको फ्रन्ट प्यानल र सिटमुनि भएका हुकमा झुन्ड्याउन मिल्छ।
यसमा मल्टिफंसनल स्वीच छ। यसैबाट ह्यान्डल लक, सिट लक, इन्धन ट्यांकीको बिर्को खोल्ने काम गर्न सकिन्छ।
त्यस्तै पूर्ण डिजिटल मिटरमा स्पिडोमिटर, ट्यांकोमिटर, रियर-टाइम माइलेज, समयलगायत एकै पटकमा देख्न सकिन्छ।
स्कुटरको अगाडि १२ इन्च र पछाडि १० इन्च अलोय ह्विल पाउन सकिन्छ। चक्का माथिपट्टि रिफ्लेक्टर पनि छ जुन रातको समयमा उपयोगी हुन्छ।
ग्राजिया-१२५ स्पोर्ट्स एडिसन चार विभिन्न रङमा उपलब्ध हुनेछ- खरानी, पहेँलो, निलो र रातो।
त्यस्तै नयाँ ग्राजिया दुई मोडलमा उपलब्ध छ- ग्राजिया एसटिडी बिएस-६ र ग्राजिया डिएलएक्स बिएस-६।
एसटिडीको तुलनामा डिएलएक्समा केही थप विशेषता छन् जसमा स्टार्टिङ गर्दाको पावर र ब्रेकिङ प्रविधि पनि पर्छ। यसमा ५.३ लिटर इन्धन क्षमता छ। ट्यांकीको बिर्को खोल्न डिक्की खोलिरहन पर्दैन, बाहिरैबाट खोल्न मिल्छ।
नयाँ ग्राजियाको ग्राउन्ड क्लियरेन्स पनि राम्रो छ, १७१ एमएम। त्यस्तै ह्विलबेस १२६० एमएम छ भने तौल एक सय ८ केजी छ। यसको उचाइ ११६७ एमएम छ।
यो स्कुटर अधिक ९५ किलोमिटर प्रतिघन्टा रफ्तारसम्म गुड्न सक्छ।
कम्पनीले ग्राजिया-१२५ बिएस ६ को एसटिडी मोडलको बजार मूल्य दुई लाख ६९ लाख ९ सय तोकेको छ। त्यस्तै डिएलएक्सको मूल्य एसटिडीभन्दा बीस हजार बढी छ। अर्थात् दुई लाख ८९ हजार ९ सय रुपैयाँ तोकेको छ।