नेपाली बजारमा चाङ्गन अटोग्रुप प्रवेश गर्दैछ। नेपालस्थित एमएडब्ल्यु वृद्धि अटोकर्पसँग व्यापारिक साझेदारीमा यो चिनियाँ कम्पनीले नेपालमा आफ्नो उत्पादनहरूको बिक्री–वितरण गर्ने भएको हो।
चाङ्गन ब्रान्डका प्यासेन्जर गाडीहरू सन् २०२१ मा चीनमा सबैभन्दा बढी बिक्री भएको गाडी हो। सन् २०२० मा यो ब्रान्डको २० लाख वटा गाडी विश्वका ६० मुलुकमा बिक्री भएको थियो।
नेपालमा एमएडब्ल्यु स्कोडा, जिप, जेसिबी, यामाहा, फोटोन र एमएएन ब्रान्डका उत्पादनहरूको आधिकारिक वितरक हो। यी ब्रान्डले बजारमा राम्रो प्रतिक्रिया पाएको छ। चाङ्गनले पनि नेपालमा राम्रो बजार पाउनेमा एमएडब्ल्युका अध्यक्ष विष्णु अग्रवाल सकारात्मक छन्।
उनले भविष्यमा चाङ्गन ब्रान्डले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ गति लिन मद्दत पुर्याउने बताए। त्यस्तै कम्पनीले चाङ्गन गाडीको ग्राहकहरूमा उत्कृष्ट सेवा र सुविधा प्रदान गर्नेमा उनी प्रतिबद्धता छन्।
चाङ्गन अटो ग्रुपका उप–महाप्रबन्धक देङ्गले भने चाङ्गन ब्रान्डले ग्राहको बदलिदो आवश्यकतालाई ध्यानमा राख्दै गाडीहरू भित्र्याउने बताएका छन्।
कम्पनीका अनुसार पहिलो चरणमा चाङ्गन अटोको सेडान, पिकअप र एसयुभी सार्वजनिक हुनेछ। त्यस्तै दोस्रो चरणमा भने विद्युतीय गाडीहरू नेपाली बजारमा सार्वजनिक हुनेछ।