नेपाली बजारमा केटिएम–७९० ड्युकको बुकिङ खुलेको छ। नेपालका लागि केटिएम बाइकको आधिकारिक वितरक हन्सराज हुलासचन्द प्रालीले आइतबारदेखि नयाँ केटिएम–७९० ड्युकको बुकिङ खुलाएको हो।
भारतमा यो बाइकको बुकिङ गत वर्ष नै सुरु भएको हो। नेपालमा यसले राम्रो बजार पाउनेमा कम्पनी विश्वस्त छ। यसै पनि केटिएम बाइकहरूको बाहिरी आवरण र यसका विशेषताहरूका कारण नेपाली युवा पुस्तामाझ केटिएम लोकप्रिय ब्रान्ड बनेको छ।
७९९ सिसी डिस्प्लेस्मेन्ट भएको यो बाइकमा लिक्विड–कुल्ड, प्यारालल ट्विन मोटर इन्जिन जडित छ। जसले ९ हजार आरपिएममा १०४.६ पिएस पावर र ८ हजार आरपिएममा ८७ एनएम टर्क जेनेरेट गर्छ। बाइकमा ६ स्पिड गियरबक्स रहेको छ। यसमा ट्युबलेस टायर रहको छ भने डिस्क ब्रेक पाइन्छ।
स्पोर्टी लुक्स भएको केटिएम ७९० ड्युकमा पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी हेडलाइट, टेललाइटलगायत विशेषताहरू छन्। बाइकलाई स्पोर्ट, स्ट्रिट, रेन र ट्रयाक गरेर चार विभिन्न मोडमा चलाउन सकिन्छ।
कम्पनीले नयाँ केटिएम ७९० ड्युकको नेपाली बजार मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकेको छ।