पछिल्लो समय विद्युतीय सवारीसाधनको आयात बढेको छ। विद्युतीय सवारीमा भन्सार महसुल घटेका कारण सवारी आयात बढेको नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए।
‘बिजुली सवारीको आयात दुई सय प्रतिशतभन्दा धेरै बढेको छ। चार पांग्रे, दुई पांग्रे, तीन पांग्रे सबै खाले सवारीको आयात बढेको हो,' उनले भने।
यसअघिका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको चालू आर्थिक वर्षको बजेटमा सवारीको भन्सार महसुल र अन्तःशुल्क हटाउने घोषणा गरेका थिए। यससँगै मूल्य घटेर सवारी माग बढेको अक्ष्यक्ष दुलालले बताए। तर अझै पनि बजार माग धान्नेगरी सवारीहरू आउन नसकेको पनि उनले बताए।
यस्तो छ भन्सारको तथ्यांकः
आर्थिक वर्ष २०७६/०७७ मा ६३ लाख २२ हजार मूल्य बराबरको तीन पांग्रे सवारी ८३ वटा आयात गरिएको छ।
आव २०७७/७८ मा सोही सवारी आयात ह्वात्तै बढेको देखिन्छ। यो आवमा १६ करोड ४९ लाख ९४ हजार रकम बराबरको १९४३ वटा तीन पांग्रे सवारी आयात गरिएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०७६/०७७ मा ३० लाख ७६ हजार रकमको एउटा मात्रै बिजुली कार आएको तथ्यांकले देखाउँछ। आव २०७७/७८ मा भने ६५ करोड ७८ लाख ४२ हजार रकम बराबरको २४९ वटा गाडी आयात भएको छ।
आव २०७६/०७७ मा दुई पांग्रे सवारी ९ लाख ७० हजार रकम बराबरको १२९ वटा आयात भएको थियो। २०७७/७८ मा सो संख्या बढेर ३५८ वटामा पुगेको छ। दुई करोड ९६ लाख १२ हजार रकम बराबरको उक्त सवारी आयात गरिएको हो।
तथ्यांकअनुसार २०७६/०७७ मा कुल एक करोड ८४ लाख ६८ हजारको विद्युतीय सवारी आयात भएको छ।
त्यस्तै, २०७७/७८ मा एक अर्ब ७० करोड ४८ लाख ९६ हजारको विद्युतीय सवारी आयात भएको छ।