सुजुकीले हालै बजारमा नयाँ एक्सेस-१२५ स्कुटर भित्र्याएको छ। बिएस-६ मापदण्डमा आधारित यो स्कुटरमा एफआइ इन्जिन छ।
बाहिरी आवरण र पफर्मेन्सका कारण एक्सेस-१२५ बिएस-६ भारतीय बजारमा टप-थ्रीमा पर्न सफल स्कुटर भएको कम्पनीले दाबी गरेको छ। यो स्कुटर नेपाली बजारमा पनि प्रतिक्षित स्कुटर हो।
एक्सेस-१२५ बिएस-६ को डिजाइन ‘क्लासिक’ छ। यसको अगाडि भागमा ठूलो एलइडी हेडल्याम्प र एलइडी पोजिसन लाइट्स छ। यसको पछाडिपट्टि एलइडी टेल लाइट पाउन सकिन्छ।
स्कुटरको फ्युल ट्यांक बाहिरैबाट खोल्न मिल्छ। यसको लिड (बिर्को) पछाडि भागमा छ। यो स्कुटरमा ५ लिटरको इन्धन क्षमता छ।
स्कुटरको उचाइ जम्मा ११६० एमएम, लम्बाइ १८७० एमएम र चौडाइ ६९० एमएम छ। स्कुटरको सिट उचाइ पनि जम्मा ७७३ एमएम छ।
स्कुटरमा एक सय ६० एमएम ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ। जुन नेपाली बाटोका लागि उपयुक्त मानिन्छ। स्कुटरको ह्विलबेस १२६५ एमएम छ। तौल १०३ केजी छ।
एक्सेस-१२५ बिएस-६ मा ट्युबलेस अलोय ह्विल छ। अगाडिको टायर १२ इन्च छ भने पछाडि १० इन्चको छ। यसको अगाडि भागमा टेलिस्कोपिङ सस्पेन्स र पछाडि स्विङ आर्म सस्पेन्सन पाउन सकिन्छ।
१२४ सिसी डिस्प्लेसमेन्ट भएको नयाँ एक्सेस-१२५ बिएस-६ मा ४ स्ट्रोक, सिंगल सिलिन्डर, एयर-कुल्ड इन्जिन जडान गरिएको छ। जसले ६७५० आरपिएममा ८.७ पिएस पावर र ५५०० आरपिएममा १० एनएम टर्क जेनेरेट गर्छ।
यसमा भएको एफआइ प्रविधिका कारण स्कुटरले राम्रो माइलेज दिनेछ। कम्पनीले दाबी गरेअनुसार यसले प्रतिलिटर ६४ किलोमिटर माइलेज दिनेछ।
स्कुटरमा सामान राख्न पनि धेरै ठाउँ छ। यसमा २२ लिटरको डिकी छ। अगाडि भागमा पनि झोलाहरू झुन्ड्याउन हुक पाउन सकिन्छ भने पन्जा र अरू साना सामग्री राख्न बक्स पनि छ।
यसमा भएको फराकिलो सिटका कारण स्कुटर चलाउने र पछाडि बस्नेलाई पनि सजिलो हुन्छ। स्कुटरमा सेल्फ स्टार्ट र किक दुवै पाउन सकिन्छ। एक्सेस-१२५ बिएस-६ मा एनालग मिटर छ।
नेपाली बजारमा यो स्कुटर चार वटा रङ उपलब्ध छ- सेतो, निलो, खैरो र कालो।
कम्पनीले नयाँ एक्सेस-१२५ बिएस-६ को सुरूआती बजार मूल्य २ लाख ५९ लाख ९ सय रूपैयाँ तोकेको छ। यो भनेको झन्डै २ लाख ६० हजार रूपैयाँ।
नयाँ एक्सेस-१२५ बिएस-६ ले राम्रो बजार पाउनेमा कम्पनी आशावादी छ।