रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीको बाटो खुल्ला गर्न माग गर्दै युवाहरुले कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई ज्ञापन पत्र बुझाएका छन्।
सबै प्रकृया पुरा भएर पनि कोभिडका कारण गत वर्षदेखि रोकिएका युवाहरुले बिहीबार शर्मालाई ज्ञापनपत्र बुझाएका हुन्।
‘सुरुमा नेपाल सरकारले एकतर्फी रुपमा कामदार रोक्यो। अहिलेसम्म पनि यो प्रकृया अन्यौल छ। यसले गर्दा हामी अरु पेशा व्यवसायमा आबद्ध हुन पनि सकेका छैनौँ। जसले महत्वपूर्ण समय त्यसैखेर गइरहेको छ,’ ज्ञापन पत्रमा भनिएको छ।
नियमित तथा प्रतिबद्ध गरेर १० हजार युवाहरु कोभिडका कारण रोकिएका छन्।
कोरियाले कम्बोडिया, भियतनाम, थाइल्याण्ड, पूर्वी टिमोर श्रीलंका लगायत मुलुकहरुबाट कामदार लगिराखेको भए पनि आफूहरु जान नपाउनु दुःखद् भएको उनीहरुको गुनासो छ।
ज्ञापन पत्र बुझाएपछि कांग्रेस प्रवक्ता शर्माले समस्या सहजीकरण गर्ने आश्वासन दिएको इपिएस संघर्ष समितिका संयोजक अजय सोडारीले बताए।