सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिएका सात लाख युवाहरु यतिबेला परीक्षाको पर्खाइमा छन्।
कोरोनाका कारण गत वैशाखदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिएकाले मिति पाइसकेकाहरुले पनि परीक्षा दिन पाएका छैनन्।
उनीहरुको मिति रिसेड्युल हुने यातायात व्यवस्था विभागले जनाएको छ।
‘पहिला मिति पाइसकेकाहरुको रिसेड्युल हुन्छ। आवेदन दिँदा जुन नम्बर राख्नु भएको छ त्यो नम्बरमा मेसेज जान्छ,’ विभागका सूचना अधिकारी लोकनाथ भुसालले सेतोपाटीसँग भने।
लाइसेन्स परीक्षा खुल्ला हुने टुंगो लागेपछि सेवाग्राहीहरुलाई खबर गरिने उनले बताए।
कोरोना महामारीको अवस्था सहज भएमा भदौ पहिलो साताबाट लाइसेन्स परीक्षा खुलाउने तयारी विभागको थियो। तर कोरोना महामारी बढ्दै गएकाले समय अझै लम्बिन सक्ने विभागले बताएको छ।