नेपाली बजारमा होन्डाको हाइनेस सिबी ३५० र सिबी ३५० आरएसको स्टक सकेको छ। सार्वजनिक भएको छोटो समयमै यी बाइकहरू लोकप्रिय बनेको नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले बताए।
कम्पनीका अनुसार होन्डाको हाइनेस सिबी ३५० र सिबी ३५० आरएस खरिद गर्न इच्छुक व्यक्तिले अब सेप्टेम्बर महिनासम्म कुर्नुपर्ने छ। केही समय अघि मात्रै कम्पनीले सिबी ३५० डिएलएक्सको पनि स्टक सकेको र नयाँ खरिद गर्न इच्छुकले अगस्ट महिनासम्म कुर्नुपर्ने बताएको थियो।
होन्डा हाइनेस सिबी ३५० को बजार मूल्य ७ लाख ५० हजार तोकिएको छ भने सिबी ३५० आरएसको मूल्य ७ लाख ७५ हजार तोकिएको छ। तर हाल कम्पनीले हाइनेस ३५० जम्म ७ लाख २५ हजार र सिबी ३५० आरएस जम्मा ७ लाख ३९ हजार ९ सय रुपैयाँमा उपलब्ध गराउँदै छ।
अब सेप्टेम्बरका लागि नयाँ बुकिङ लिइने र यसका लागि बुकिङ खुलेको बताइएको छ । होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले पहिले होन्डा हाइनेस सीबी ३५० र त्यसपछि सीबी ३५० आरएस मोटरसाइकल नेपाली बजारमा बिक्रीका लागि उपलब्ध गराएको हो ।
होन्डा हाइनेस ३५० मा रेट्रो लुक्स पाउन सकिन्छ। यसमा ३४८.३६ सिसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन जडित छ। जसले २०.८ बीएच पावर र ३० एनएम टर्क जेनेरेट गर्छ। यो बाइक रातो, हरियो र कालो गरी तीन रंगमा उपलब्ध छ।
त्यस्तै होन्डा सिबी ३५० आरएसमा पनि आकर्षक रेट्रो लुक्स पाउन सकिन्छ। बाइकमा एड्भान्स डिजिटल एनालगमिटर, डुअल च्यानल एबिएस, साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज, रियल टाइम माइलेजलगायतका विशेषताहरू पाउन सकिन्छ।
आधुनिक विशेषताहरू भएको यो बाइक दुई रंगमा उपलब्ध छः कालो र रातोको मिश्रित टोन र रातो। यतिबेला होन्डाका नयाँ मोडलका बाइक र स्कुटरहरूले समेत राम्रो बजार पाइरहेको छ।