केही समयअघि सार्वजनिक जीपको नयाँ गाडी 'कम्पास' ले राम्रो बजार पाइरहेको छ। नेपालका लागि जीप एसयुभीको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले असार तेस्रो सातामा नयाँ कम्पास भर्चुअल माध्यमबाट सार्वजनिक गरेको हो।
नयाँ कम्पासमा इन्टिग्रेटेड डिआरएलसहितको रिभाइज्ड हेडलाइट, नयाँ फगलाइट हाउजिङ, ठूलो एअरड्याम भएको नयाँ डिजाइनको फ्रन्ट बम्पर र नयाँ अलोय ह्विल पाउन सकिन्छ। पहिलेको जीप कम्पासमा भएझैं यसको अगाडि भागमा आकर्षक सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विल आर्क पनि छ।
कम्पनीले यसको आन्तरिक डिजाइनमा विशेष ध्यान पुर्याएको छ। यसमा नयाँ ड्यासबोर्ड, एसी भेन्ट, एचभिएसी कन्ट्रोल र १०.१ इन्चको टचस्क्रिन छ। त्यसैगरी १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डबल–स्टिच लेदर इन्सर्ट र नयाँ थ्री स्पोट स्टेरिङ ह्विल छ।
नयाँ कम्पासमा एफसिएले निर्माण गरेको पाँचौं पुस्ताको युकनेक्ट इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो समेत छ। नयाँ फिचरमा डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर टेलगेट, ३६० डिग्री क्यामरा, भेन्टिलेसन फिचर सहितको ८ वे इलेक्ट्रिकली एड्जस्टेबल फ्रन्ट सिट पाउन सकिन्छ।
सुरक्षाका लागि नयाँ कम्पासमा फ्रिक्वेन्सी ड्याम्पिन सस्पेन्सन, ६ वटा एअरब्याग, एन्टिरोल मिटिगेसन, ट्रयाक्सन कन्ट्रोल, इएससी, हिल स्टार्ट असिस्ट, इबिडीसहितको एबिएस, रेन ब्रेक असिस्ट, पार्किङ सेन्स र आइसोफिक्स चाइल्ड सिड माउन्टलगायत ५० भन्दा बढी सुरक्षा व्यवस्था भएको कम्पनीको भनाइ छ।
नयाँ जीप कम्पास दुई इन्जिनमा उपलब्ध छ। १.४ लिटरको मल्टिएअर टर्बो इन्जिनले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ। यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डिसिटी अटोमेटिक अप्सनमा उपलब्ध छ।
त्यस्तै २.० लिटर मल्टिजेट टु इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्छ। यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ।
नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजार रूपैयाँदेखि एक करोड ३६ लाख ९० हजारसम्म तोकिएको छ।