संसारको सबैभन्दा ठूलो कार उत्पादक टोयोटा मोटरले आफ्नो ४० प्रतिशत उत्पादन कटौती गर्ने भएको छ। चिप अभावका कारण कम्पनीले आगामी महिनादेखि उत्पादन घटाउन बाध्य भएको हो।
जापानी अखबार निक्कीका अनुसार कम्पनीले सेप्टेम्बरदेखि आफ्नो मासिक उत्पादन ४० प्रतिशतले घटाउनेछ। र, नयाँ उत्पादन लक्ष्य काम गर्नेछ। टोयोटाले केही समयअघि नै चिप अभावका कारण सेप्टेम्बरमा ९ लाखभन्दा कम सवारी उत्पादन गर्ने बताएको थियो। तर अवस्था सोचेभन्दा खराब भएपछि कम्पनीले आगामी महिना जम्मा ३ लाख ६० हजार वटा सवारी उत्पादन गर्ने योजना बनाएको छ।
चिप अभाव कै कारण कम्पनीले केही समयअघि आफ्नो उत्पादन काम अस्थायी रूपमा रोकेको थियो। जसमध्ये जापानका १५ वटा प्लान्टको काम स्थगित भएको थियो। त्यसबाहेक उत्तर अमेरिका, चीन र बेलायतमा पनि टोयोटाको निर्माण काम रोकिएको थियो।
कम्पनीको नयाँ निर्णयसँगै टोयोटाका केही सवारी उत्पादनमा प्रत्यक्ष असर देखिनेछ। जसमध्ये टोयोटा आरएभी ४, कोरोला, प्रियस, क्यामरी र लेक्सस आरएक्सको उत्पादनमा असर देखिनेछ। यी सवारी प्रायः टोयोटाको स्थानीय बजार र केही मूलुकहरूमा मात्रै बिक्री भइरहेका छन्।
‘विशेषगरी दक्षिणपूर्व एशियामा कोरोना महामरी र लकडाउनका कारण हाम्रो स्थानीय आपूर्तिकर्ताहरूलाई असर पारेको छ’, टोयोटाका खरिद समूहका प्रमुख अधिकारी काजुनारी कुमाकुराले ब्लुम्बर्गलाई भनेका छन्।
कम्पनीका अनुसार दक्षिणपूर्व एशियाका राष्ट्रहरूमा उत्पादनसँगै सवारीको सप्लाई चेनमा पनि ठूलो असर परेको छ। महामारी कै कारण सवारी निर्माणलाई आवश्यक विभिन्न पार्टसको अभावका कारण गत महिनादेखि थाइल्यान्डमा टोयोटाले तीनवटा कारखानाहरूमा आफ्नो उत्पादन काम स्थगित गरेको छ।