नेपाली स्टार्टअप यात्री मोटरसाइकलले विद्युतीय सवारी निर्माणमा जोड दिँदैछ। नेपालमा सवारी क्षेत्रलाई विद्युतीकरण गर्न सक्नेमा यात्री सकारात्मक छ।
विद्युतीय सवारी सञ्चालन बढेसँगै देशको प्रदुषित हावा सफा गर्न सक्ने, इन्धनको आयात घटाउन सक्ने, पैसा बचत गर्न सक्ने र नेपाललाई जलवायु लक्ष्यहरू पुरा गर्न मद्दत पुर्याउनेमा यात्री विश्वस्त छ।
यात्री सन् २०१७ देखि सञ्चालनमा आएको नेपाली बाइक निर्माण कम्पनी हो। विश्व स्तरीय विद्युतीय सवारी निर्माणमा जोड दिइरहेको कम्पनीले आफ्नो उत्पानहरूको डिजाइनमा समेत विशेष ध्यान पुर्याएको छ।
यात्रीका संस्थापक अशिम पाण्डेका अनुसार नेपालमा विद्युतीय सवारी निर्माण र सञ्चालनको निकै खाँचो छ। नेपालमा यतिबेला विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरूले पनि विद्युतीय सवारी आयातमा सकारात्मक चासो देखाइरहेको छ।
यात्रीले सन् २०१९ मा ‘प्रोजेक्ट जिरो’ को निर्माण गरेको थियो। जसमा डिजिटल ड्यासबोर्ड, इनबिल्ट ४–जी कनेक्टिभिटी, चाँबीबिना बाइक स्टार्ट गर्न मिल्ने विशेषताहरू छन्। त्यस्तै यो बाइक जम्मा २ घण्टामा पुरा चार्ज हुन्छ भने एक पटकको पूरा चार्जमा २ सय ३० किलोमिटरसम्मको माइलेज दिन्छ।
यसको टप स्पिड १४० किलोमिटर प्रति घण्टाको छ। प्रोजेक्ट जिरोमा ८ किलोवाटको ब्याट्री क्षमता छ। यसले ४८ किलोवाटको पावर र १२० देखि ६५० एनएमको टर्क जेनेरेट गर्छ।
यात्रीको यो प्रोजेक्ट जिरोको मूल्य १९ लाख ४९ हजार तोकिएको छ।
उक्त बाइकको मूल्यका कारण यात्री चर्चाको विषय बन्यो। केही समय पछि कम्पनीले योभन्दा किफायती मूल्यमा प्रोजेक्ट वान सार्वजनिक गर्यो। जसको मूल्य भने जम्मा ४ लाख ९५ हजार तोकियो। रिपोर्टका अनुसार प्रोजेक्ट वान सार्वजनिक भएको एक सातामा झन्डै ५० वटा बाइकको अर्डर मिल्यो।
यो बाइकले १४ किलोवाटको पावर र ४८० एनएमको टर्क जेनेरेट गर्छ। यो बाइक फुल चार्ज हुन जम्मा ३ घण्टा लाग्छ र पूरा चार्जमा ११० किलोमिटरको माइलेज दिन्छ। फास्ट चार्जमा भने यो बाइक ४० मिनेटमा पूरा चार्ज हुन्छ।
कम्पनीका अनुसार यसले सन् २०२१ सम्ममा २ सय वटा आफ्नो उत्पादन बिक्री गर्ने लक्ष्य राखेको छ।
नेपालमा ८० प्रतिशत यातायातको माध्यम बाइक र दुई पाङ्ग्रे बनेको छ। सरकारले विद्युतीय सवारीको आयात र बिक्री बढाउन विद्युतीय सवारीमा लाग्ने कर पनि घटाएको छ। र, विभिन्न ठाउँमा चार्जिङ स्टेसनको पनि व्यवस्था मिलाएको छ।
नेपाल विद्युतीय सवारी संघका अनुसार नेपालमा हालसम्म जम्मा ७ सय विद्युतीय कार, ५ हजार विद्युतीय स्कुटर र ४० हजार विद्युतीय रिक्सा छन्।