नेपाली बजारमा रेनोको नयाँ ट्राइबर २०२१ सार्वजनिक हुने भएको छ। रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले अबको केही सातामै नयाँ ट्राइबर सार्वजनिक गर्ने भएको हो। कम्पनीले गाडीको बुकिङ भने सुरू गरिसकेको छ।
बिएस ६ इन्जिन जडित नयाँ ट्राइबर ७ सिटर कम्प्याक्ट एमपिभी हो। यसले एनक्याप सेफ्टी रेटिङमा ४ स्टार पाएको छ। ९९९ सिसी डिस्प्लेसमेन्ट भएको यो गाडीले ६२५० आरपिएममा ७२ पिएस पावर र ३५०० आरपिएममा ९६ एनएमको टर्क जेनेरेट गर्छ।
ट्राइबर नयाँ डुअल एस्टेरिअर डिजाइनमा उपलब्ध हुनेछ। यसको डिजाइनिङमा विशेष प्राथमिकता दिएको कम्पनीले दाबी गरेको छ। यसमा रोबस्टस डिजाइनिङ, आकर्षक स्टालिङ साथै आधुनिक इन्टेरिअर छ। गाडीको अगाडि भागमा एलइडी डिआरएलसहितको प्रोजेक्टर हेडल्याम्प छ।
गाडीको भित्री डिजाइनिङ पनि निकै सानदार छ। यसमा विद्युतीय पावर स्टेरिङ, ट्विन एसी, आकर्षक ड्यासबोर्ड, २०. २३ सेन्टिमिटरको टचस्क्रिनलगायत विशेषता पाउन सकिन्छ।
सुरक्षाको हिसाबमा पनि नयाँ ट्राइबरमा ४ वटा एयर ब्याग छन्। त्यस्तै यसमा एबिएस र इबिडी ब्रेकिङ प्रणाली, रिअर पार्किङ सेन्स, क्यामेरा, स्पीड अलर्ट वार्निङ, सिट बेल्ट रिमाइन्डर, स्पीड सेन्सिङ डोर लकलगायत विशेषताहरू छन्।
गाडीमा ६२५ लिटरको बुट स्पेस पाउन सकिन्छ। नयाँ ट्राइबर २०२१ मा ४० लिटरको इन्धन क्षमता छ। त्यस्तै गाडीको ग्राउन्ड क्लेरेन्स १८२ एमएको छ भने ह्विलबेस २६३६ एमएमको छ।
कम्पनीले नयाँ ट्राइबरको सुरुवाती मूल्य ३० लाख ९९ हजार तोकेको छ।