फोर्स मोटर्सले भारतमा नयाँ अवतारमा अफ-रोड एसयुभी गोर्खा सार्वजनिक गर्ने भएको छ। कम्पनीले शुक्रबार नयाँ गोर्खा २०२१ सार्वजनिक गर्नेबारे जानकारी दिँदै सामाजिक सञ्जालमा टिजर भिडिओ सार्वजनिक गरेको हो।
अटो हिन्दुस्तानका अनुसार २०२१ फोर्स गोर्खा यो वर्षको चाडपर्वको मौसमभन्दा अघि बजार प्रवेश गर्नेछ। गाडी अर्को महिना सार्वजनिक हुने अनुमान लगाइएको छ।
यसअघि कम्पनीले नयाँ एसयुभी यही वर्षको तेश्रो त्रैमासिकमा सार्वजनिक गर्ने बताएको थियो। अर्थात् जुलाईदेखि सेप्टेम्बर महिनाभित्र सार्वजनिक गर्ने योजना थियो। यद्यपी कम्पनीले गाडी सार्वजनिक गर्ने ठ्याक्कै मिती भने खुलाएको छैन।
फोर्स गोर्खा पहिलो पटक गत वर्षको अटो एक्पोमा सार्वजनिक गरिएको हो। विशेषमा अफ-रोडको लागि निर्माण गरिएको यो एसयुभीले महिन्द्राको थारसँग प्रतिस्पर्धा गर्नेछ।
फोर्स मोटरले तीन ढोका र पाँच ढोका संस्करणमा नयाँ गोर्खा सार्वजनिक गर्ने अनुमान लगाइएको छ। २०२१ नयाँ गोर्खामा ग्राहकले बाहिरी र भित्री आवरणमा समेत परिवर्तन देख्नेछन्।
यसको अगाडि भागमा नयाँ सेटको एलइडी डिआरएलसहितको हेडलाइट हुनेछ। त्यस्तै गाडीमा नयाँ ग्रिल लुक्स र अगाडि बम्पर, टर्न इन्डिकेटर, परिमार्जित ह्विलहरू र टेलगेटमा स्पेयर ह्विल हुनेछ।
यसको भित्र क्याबिनमा ड्यासबोर्ड पुरै कालो हुनेछ भने नयाँ टचस्क्रिन सुविधा पाइन्छ। त्यस्तै ए-पिलर माउन्ट ग्र्याब रेल, ग्लोब बक्स, इन्डिपेन्डेन्ड फ्रन्ट सस्पेन्सन र पछाडि भागमा रिगिड एक्सेल नयाँ गोर्खाको केही विशेषताहरू हुन्।
नयाँ २०२१ फोर्स गोर्खामा बिएस६ कम्प्लायन्टको २.६ लिटरको डिजेल इन्जिन जडित हुने सम्भावना उच्च छ। इन्जिनले अधिकतम ८९ बिएचपी पावर र २६० एनएमको टर्क जेनेरेट गर्नेछ। यसमा ५ वटा गियर बक्स हुने अनुमान लगाइएको छ।
यी बाहेक कम्पनीले नयाँ अवतारमा सार्वजनिक हुन लागेको गोर्खा एसयुभीका विशेषता र मूल्य सार्वजनिक गर्न बाँकी नै छ।