बजाजको एफआई र एबिएस भएको पल्सर एनएस २०० नेपाल भित्रिएको धेरै भएको छैन। तर यसमा भएका विशेषताहरूका कारण बाइकले राम्रो बजार पाएको छ।
बाइकमा ४ भल्भ, ४ स्ट्रोक, सिंगल सिलिन्डर एफआई इन्जिन जडित छ। यसमा लिक्विड कुल्ड कुलिङ सिस्टम पाउन सकिन्छ।
बाइकको डिजाइन र स्टाइल निकै अग्रेसिभ र मस्कुलिन भएको कम्पनीको भनाइ छ। धेरैले यसको नेकेड स्टाइल पनि मन पराउँछन्। एफआई र एबिएस भएको नयाँ पल्सर एनएस २०० को डिजाइन पहिलेको एनएस २०० जस्तै छ। तर यसको पावर र पर्फर्मेन्समा भने कम्पनीले अपग्रेड गरेको छ।
बाइकको अगाडि भागमा भएको मिटरमा स्पिडोमिटर, फ्युल इन्डिकेटर, स्ट्यान्ड सेन्सर, ओडोमिटर, एफआई मिटरलगायत एकैपटक देखाउँछ।
१९९.५ सिसी डिस्प्लेसमेन्ट भएको नयाँ पल्सर एनएस २०० विथ एफआई एन्ड एबिएसले ९७५० आरपिएममा २४.५ पिएस पावर र ८००० आरपिएममा १८.३ एनएम टर्क जेनेरेट गर्छ।
बाइकमा १२ लिटरको इन्धन ट्यांकी छ। एफआई प्रविधिका कारण यसले माइलेज भने बढी दिने कम्पनीले दाबी गरेको छ। कम्पनीका अनुसार पहिलेको एनएस २०० ले झन्डै ३६ किलोमिटर प्रतिलिटर माइलेज दिन्थ्यो भने नयाँ पल्सर एफआई एन्ड एबिएसले ४० भन्दा बढी किलोमिटर प्रतिलिटर माइलेज दिन्छ।
यसको टप स्पिड १२५ किलोमिटर प्रति घण्टासम्म हुन्छ।
नयाँ पल्सर एनएसको तौल १५२ केजी छ। यसको लम्बाइ २०१७ एमएम, चौडाइ ८०४ र उचाइ १०७५ एमएम छ। सिट उचाइ पनि जम्मा ८०५ एमएम हो।
धेरैको प्रतिक्रियाअनुसार यो बाइक चलाउन र बस्न पनि सजिलो छ। लामो दुरीको यात्राका लागि पनि बाइक उचित मानिएको छ। यसको ह्विलबेस १३६३ एमएम र ग्राउन्ड क्लियरेन्स १६७ एमएम छ।
बाइकमा १७ इन्चको ट्युबलेस अलोय ह्विल छ। यसको अगाडि-पछाडि दवैमा हाइड्रोलिक डिस्क ब्रेक पाइन्छ। यसको अगाडि भागमा एन्टी फ्रिक्सन बुससहितको टेलिस्कोपिक सस्पेन्सन र पछाडि क्यानिस्टरसहितको नाइट्रोक्स मोनो सक अब्जर्भर छ।
पहिलेको कार्बोरेटर सिस्टम भएको एनएसभन्दा यो नयाँ एफआई र एबिएस जडित एनएस २०० मा केही भिन्नता पक्कै पाउन सकिन्छ। २०० सिसी सेग्मेन्टमा यो बाइक किफायती हुनुको साथै पावरफुल पनि भएको कम्पनीको भनाइ छ।
यो बाइक रातो, सेतो, खरानी र निलो गरेर चार रङमा उपलब्ध छ। कम्पनीले नयाँ पल्सर एनएस २०० एफआई एबिएसको मूल्य ३ लाख ८७ हजार ९ सय रूपैयाँ तोकेको छ।