टिभिएस मोटर्स कम्पनीले आज नयाँ २०२१ अपाचे आरआर ३१० सार्वजनिक गर्दैछ। नयाँ अवतारमा सार्वजनिक हुन लागेको अपाचे आरआर ३१० मा कम्पनीले थुप्रै विशेषताहरू थपेको छ।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार नयाँ अपाचेको बाहिरी आवरणसँगै भित्री इन्जिन र पर्फर्मेन्समा कम्पनीले विशेष ध्यान पुर्याएको छ। टिभिएसले यो नयाँ बाइक गत अप्रिल मै सार्वजनिक गर्ने योजना बनाएको थियो। तर दोस्रो चरणको कोरोना महामारीका कारण सार्वजनिक हुन सकेन।
२०२१ अपाचे आरआर ३१० मा नयाँ सस्पेन्सन सेट-अप गरिएको छ। त्यस्तै यसमा ह्विलहरू पनि नयाँ प्रकार र ट्विन पोड हेडल्याम्प डिजाइन हुने अनुमान लगाइएको छ। नयाँ बाइक विभिन्न नयाँ रंग विकल्पमा उपलब्ध हुनेछ।
यो बाइकमा चार वटा राइडिङ मोड हुनेछ- स्पोर्ट, अर्बन, ट्रयाक र रेन। यसको दुवै पाङ्ग्रामा डिस्क ब्रेक हुनेछ भने बाइकमा डुअल च्यानल एबिएस हुनेछ।
अहिले बजारमा उपलब्ध अपाचे ३१० मा ३१० सिसीको सिंगल सिलिन्डर इन्जिन जडित छ। जुन बिएमडब्ल्यूको जी ३१० आरको इन्जिनमा आधारित छ। नयाँ अपाचे आरआर ३१० मा भने परिमार्जित यसभन्दा राम्रो पर्फर्मेन्स दिने इन्जिन जडान गरिनेछ।
नयाँ अपाचे आरआर ३१० मा बिएस६ मा आधारित ३१२ सिसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन हुनेछ। जसले अधिकतम ३४ एचपी पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ। यसमा ६ स्पीड म्यानुअल ट्रान्समिसन हुनेछ।
२०२१ अपाचे आरआर ३१० सोमबार सार्वजनिक हुँदैछ। नयाँ विशेषताहरू थप गरेको कारण यो बाइकको मूल्यमा अहिलेको अपाचे ३१० को भन्दा भारु १० हजार बढी हुने बताइएको छ।
नयाँ अपाचे आरआर ३१० को मूल्य भारु २ लाख ४ हजार पुग्ने अनुमान लगाइएको छ। कम्पनीले बाइकको डेलिभरी यही सेप्टेम्बर देखि सुरू गर्दैछ।