टाटा मोटर्सको नयाँ विद्युतीय गाडी भारतमा सार्वजनिक भएको छ। कम्पनीले मंगलबार अपडेटसहितको नयाँ विद्युतीय टाइगोर सार्वजनिक गरेको हो।
विद्युतीय टाइगोर तीन ट्रिममा उपलब्ध छः एक्सई, एक्सएम र एक्स जेड प्लस। र, यी दुई रंग विकल्पमा उपलब्ध हुनेछ। कम्पनीले एक्सई ट्रिमको मूल्य भारु ११ लाख ९९ हजार, एक्सएमको मूल्य भारु १२ लाख ४९ हजार र एक्सजेड प्लसको मूल्य भारु १२ लाख ९९ हजार तोकेको छ। एक्सजेड प्लस डुअल टोन विकल्पमा पनि उपलब्ध छ। जसको मूल्य भने १३ लाख १४ हजार तोकिएको छ।
टाटाको यो नयाँ विद्युतीय गाडीले ग्लोबल एनक्याप सुरक्षा टेस्टमा चार स्टार रेटिङ पाएको छ। कम्पनीले यसको बुकिङ केही साताअघि नै खुलाएको हो।
‘जिपट्रोन प्रविधिमा आधारित नयाँ विद्युतीय टाइगोर सार्वजनिक गर्न पाउँदा हर्षित छौं’, पेसेन्जर भेहिकल बिजनेस युनिटका अध्यक्ष सैलेस चन्द्रले गाडी सार्वजनिक गर्दै भने, ‘यो गाडी सेडान किन्न इच्छुक ग्राहकको लागि उपयुक्त विकल्प हुन सक्छ।’
कम्पनीले नयाँ विद्युतीय टाइगोरको बाहिरी र आन्तरिक डिजाइनमा विशेष ध्यान दिएको छ। यसको अगाडि निकै सानदार प्रोजेक्टर हेडल्याम्प छ। गाडीको अगाडि भएको ग्रिल र फ्रन्ट बम्पर पनि अपडेट गरिएको छ। त्यस्तै यसको टायरहरूमा पनि अहिलेको टाइगोरको तुलनामा भिन्नता भने पक्कै पाइन्छ।
यसको क्याबिनमा सात इन्चको स्क्रिन पाइन्छ। जसमा ३० भन्दा बढी कनेक्ट कार फिचरहरू छन्।
नयाँ विद्युतीय टाइगोरलाई घरमै चार्ज गर्न सकिन्छ। फास्ट चार्जरको मद्दतमा एक घण्टामा यसलाई ८० प्रतिशत चार्ज गर्न सकिन्छ। घरायसी सकेटमा ८० प्रतिशत चार्ज हुन भने ८ घण्टाको समय लाग्छ।
जिपट्रोन प्रविधिमा आधारित नयाँ विद्युतीय टाइगोरमा आइपि६७ रेटिङ प्राप्त २६ किलोवाटको लिथियम–आयन ब्याट्री प्याक हुन्छ जुन विद्युतीय मोटरसँग संयुक्त रूपमा पाइन्छ। यसले ७३.७५ एचपी पावर र १७० एनएमको टर्क जेनेरेट गर्छ। ग्राहकले ब्याट्रीमा ८ वर्षको वारेन्टी पाउँछन्।
कम्पनीका अनुसार नयाँ विद्युतीय टाइगोर शून्यदेखि ६० किलोमिटरको रफ्तारमा गुड्न जम्मा ५.७ सेकेन्ड लाग्छ। यो गाडी ‘ड्राइभ’ र ‘स्पोर्ट’ गरी दुई मोडमा चलाउन सकिन्छ।
ग्लोबल एनक्याप क्र्यास टेस्टमा ४ स्टार रेटिङ पाएको यो गाडीमा सुरक्षाको लागि डुअल एयरब्याग, इबिडीसहितको एबिएस, कर्नर स्टेबिलिटी कन्ट्रोल, हिल असिस्ट कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता विशेषताहरू छन्।
टाटाको यो नयाँ विद्युतीय टाइगोरले विद्युतीय नेक्सनले जस्तै राम्रो बजार लिनेमा कम्पनी सकारात्मक छ।