काठमाडौं उपत्यकामा राति गुड्ने सवारीहरू अब ट्राफिक प्रहरीको ‘नाइट भिजन लेजर स्पिड गन’ को निगरानीमा रहने भएका छन्। निर्धारितभन्दा तीव्र गतिमा सवारी हाँक्नेलाई नियन्त्रणमा लिन मंगलबारदेखि ट्राफिक प्रहरी महाशाखाले यो व्यवस्था सुरू गरेको हो।
रातिको समयमा सडक खाली भएको मौकामा तीव्र गतिमा सवारी हुइँक्याउने प्रवृत्तिले सडक दुर्घटना बढेकाले न्यूनीकरणका लागि नाइट भिजन सुरू गरिएको महाशाखाले जानकारी दिएको छ।
मंगलबार राति सातदोबाटोबाट नाइट भिजन सुरू गरिएको महाशाखाका प्रवक्ता एसपी सञ्जिव शर्मा दासले सेतोपाटीलाई बताए।
मंगलबार नै तीव्र गतिमा सवारी हाँक्ने ६६ चालक कारबाहीमा परेको उनले बताए। कारबाहीमा पर्नेहरू टिपर, ट्रक तथा निजी सवारी रहेको उनले जानकारी दिए।
‘पहिलो दिन नै हाम्रो भिजन सफल भएको छ। अब हरेक रात उपत्यकाका सडकमा सवारी निगरानी गर्छौं। तोकिएको मापदण्ड पालना नगर्नेलाई कडा कारबाही हुन्छ,’ उनले भने।
महाशाखाका अनुसार अब उपत्यकाका सानेपा, कलंकी, सातदोबाटो, गठ्ठाघर लगायत व्यस्त सडकमा गुड्ने सवारी गनको निगरानीमा रहनेछन्।
तीव्र गतिमा सवारी हाँक्ने कसरी पर्छन् नाइट भिजन लेजर स्पिड गनको फन्दामा?
ट्राफिकका अनुसार गनमा छ इन्चको स्क्रिन हुन्छ जसले एक किलोमिटर अगाडिदेखि कुन सवारी कति स्पिडमा गुडिरहेको छ भन्ने रेकर्ड राख्छ। सो रेकर्डमा सवारी निर्धारितभन्दा तीव्र गतिमा गुडेको पाइएमा कारबाही हुन्छ।
नियमअनुसार तोकिएभन्दा तीव्र गतिमा सवारी गुडाउनेलाई एक हजार रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ। सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ (आठौं संशोधन) ले व्यवस्था गरेअनुसार कार, जीप, भ्यान र पिकअप बढीमा ८० किलोमिटर प्रतिघन्टा गुडाउन पाइन्छ।
टेम्पो, स्कुटर, पावरटिलर, तथा ट्रयाक्टर बढीमा ४० किलोमिटर प्रतिघण्टा,ल मोटरसाइकल बढीमा ५० किलोमिटर प्रतिघन्टा गुडाउनु पर्नेछ। बस, मिनीबस, ट्रक पहाडी बाटोमा बढीमा ७० किलोमिटर प्रतिघन्टा गुडाउनुपर्ने व्यवस्था छ। तर बाक्लो वस्ती भएका इलाकामा प्रतिघन्टा ४० किलोमिटरभन्दा बढी गतिमा कुनै पनि सवारी चलाउन नपाउने व्यवस्था नियमावलीमा छ।
तर उपत्यकाका सडकमा निर्धारितभन्दा तीव्र गतिमा सवारी हाँक्ने प्रवृत्तिका कारण दुर्घटना बढेपछि महाशाखाले लेजर स्पिड गनमार्फत सवारीको गति मापन सुरू गरेको हो। महाशाखाले उपत्यकाका सडकमा २०७६ जेठदेखि लेजर स्पिड गनमार्फत सवारी साधनको गति मापन थालेको हो। यसअघि गनमार्फत दिउँसो गुड्ने सवारीको गति मात्रै मापन गरिँदै आएको थियो।
लेजर स्पिड गन सुरू भएयता उपत्यकाका सडकमा ठूला दुर्घटना नभएको महाशाखाको दावी छ। छिटफुट साना दुर्घटना भने भइरहेको महाशाखाको भनाइ छ। कोरोना महामारीका कारण लामो समय निषेधाज्ञा हुँदा दुई वर्षयता सडक दुर्घटना कम भएको प्रवक्ता एसपी शर्मा दासले जानकारी दिए।
‘उपत्यकाका सडकमा दिउँसो सवारी चापका कारण तीव्र गतिमा कुदाउने अवस्था पनि छैन। राति भने सडक खाली भएको मौकामा तीव्र गतिमा सवारी हाँक्दा दुर्घटना बढेपछि हामीले नाइट भिजन सुरू गरेका हौं,’ उनले भने।
उपत्यकाका सडकमा गुड्ने सवारी एक हप्तासम्म निरन्तर गनको निगरानीमा रहने उनले बताए। एक हप्ताको परीक्षणपछि आवश्यकताका आधारमा गनमार्फत सवारीको गति मापन गरिने उनले बताए।