गत वर्ष सार्वजनिक टाटाको प्रिमियम ह्याचब्याक कार 'अल्ट्रोज' ले राम्रो बजार पाइरहेको छ। नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले गत असोजमा टाटा अल्ट्रोज नेपालमा सार्वजनिक गरेको हो। यो गाडीले ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ।
१.२ लिटरको रेभोट्रन इन्जिन जडित अल्ट्रोजले ६,००० आरपिएममा ८६ पिएस पावर र ३,३०० आरपिएममा ११३ एन एम टर्क जनेरेट गर्छ। यसमा सिटी र इको गरेर दुइटा ड्राइभिङ मोड छ। जसले स्पोर्टी ड्राइभिङ डाइनामिक्स र इन्धन खपतको प्रभावकारितालाई सन्तुलन कायम गर्ने कम्पनीको दाबी छ।
गाडीमा इबिडी र सिएससीसहितको एबिएस प्रविधि पाइन्छ। अल्ट्रोजमा आइडल स्टप र स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर लगायतका विशेषताहरू छन्।
सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबिएस, इबिडी, सिएससी र डुअल एअरब्यागहरू छन्। गाडीको चालक सिट र यात्रु सिट पनि सहज छ। यसमा ३४५ लिटरको बुट स्पेस छ।
हाल बजारमा अल्ट्रोज एक्सई, एक्सएम र एक्सजेड गरी ३ वटा भेरिएन्टमा उपलब्ध छ। एक्सई भेरियन्टको सुरूआती मूल्य २९ लाख ९९ हजार र एक्सएमको सुरूआती मूल्य ३२ लाख ५५ हजार तोकिएको छ। त्यस्तै कम्पनीले एक्सजेड भेरियन्टको सुरुवाती मूल्य ३८ लाख ५५ हजार तोकिएको छ।