सुजुकीले आफ्नो आन्तरिक बजार लक्षित नयाँ गाडी सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार जापानी बजारको लागि वागनआर स्माइल सार्वजनिक गरेको हो।
वागनआर स्माइलको बाहिरी आवरण बक्सी डिजाइनको मिनी-भ्यान जस्तै छ। यसको दुवै पट्टी स्लाइडिङ ढोका छन्। गाडीमा गोलो आकारको हेडलाइट छ।
गाडीको बाहिरी आवरणसँगै भित्री डिजाइनमा पनि परिवर्तन गरिएको छ। यसमा डुअल सेड थिमको ड्यासबोर्ड र पहिलेको तुलनामा ठूलो टचस्क्रिन छ। यसमा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि छ। त्यस्तै गाडीमा एनलग इन्स्ट्रुमेन्ट क्लस्टर छ।
६५७ सिसी डिस्प्लेसमेन्ट भएको यो गाडीले ६,५०० आरपिएममा ४९ पिएस पावर र ५,००० आरपिएममा ५८ एनएमको टर्क जेनेरेट गर्छ। यसमा तीन सिलिन्डर पेट्रोल इन्जिन जडित छ। गाडीमा सिभिटी ट्रान्समिसन गियरबक्स छ।
तीन भेरियन्टमा उपलब्ध वागनआरको मूल्य पनि फरक छ। स्माइल ट्रिमको मूल्य १२ लाख ९० हजार यन र उच्च भेरियन्टको मूल्य १७ लाख १० हजार यन हुने अनुमान लगाइएको छ।
यसको डुअल टोन विकल्पमा ८ रंगमा गाडी उपलब्ध छ भने सिंगल टोनमा ४ वटा रंग उपलब्ध छ। जापानमा नयाँ वागनआर स्माइलको डेलिभरी यही शुक्रबारदेखि हुँदैछ।