यामाहा मोटर्सले नयाँ संस्करणको रेजेड आर सार्वजनिक गरेको छ।
कम्पनीले मंगलबार भारतीय बजारको लागि रेजेड आरको मोन्स्टर इनर्जी यामाहा मोटो जिपी संस्करण सार्वजनिक गरेको हो। नयाँ रेजेड आर जिपी संस्करणको मूल्य भारु ८१ हजार ३ सय ३० रुपैयाँ तोकिएको छ।
हाल बजारमा उपलब्ध रेजेडको संस्करणको तुलनामा कम्पनीले नयाँ संस्करणको बाहिरी र भित्री आवरणमा केही परिवर्तन गरेको छ।
यसको बाहिरी डिजाइन स्पोर्टी छ। स्कुटरमा १२५ सिसीको हाइब्रिड पावर असिस्ट, फ्युल इन्जेक्टेड ब्लू कोर इन्जिन जडित छ। जसले ८.२ पिएस पावर र १०.३ एनएमको टर्क जेनेरेट गर्छ।
स्कुटरमा स्मार्ट मोटर जेनेरेटर (एसएमजी) प्रविधि पनि छ। यसले इन्जिन स्टार्ट गर्दा चर्को आवाज दिँदैन भने अटोमेटिक बन्द र खोल्ने विकल्प दिन्छ। त्यस्तै यसमा साइड स्ट्यान्ड राख्दा इन्जिन आफै बन्द हुने प्रविधि पनि छ।
'यामाहाको नयाँ रेजेडआर १२५ एफआई र स्ट्रिट र्याली १२५ एफआई सार्वजनिकसँगै कम्पनीले हाइब्रिड स्कुटरमा आफ्नो पोर्टफोलियो बलियो बनाएको छ,' मोटो जिपी संस्करणको नयाँ रेजेडआर सार्वजनिक गर्दै कम्पनीका अध्यक्ष मोटोफुमी सितार भन्छन्, 'फ्यासिनो १२५ एफआइको हाइब्रिड संस्करण सार्वजनिक पछि पाएको सकारात्मक प्रतिक्रियासँगै हामीमा बजार विस्तार गर्ने आत्मविश्वास बढेको छ।'
नयाँ स्कुटरसँगै कम्पनी यतिबेला भारतीय बजारमा यामाहाको नयाँ बाइक वाइजेडएफ-आर१५ भी ३.० सार्वजनिक गर्ने तयारीमा छ।