सुन्दर यातायातले २० वटा नयाँ बिजुली बस ल्याउने तयारी गरेको छ।
तेस्रो वार्षिक उत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत डेढ महिना भित्रमा सबै बस ल्याइसक्ने अध्यक्ष भेषबहादुर थापाले घोषणा गरे।
२० बसमध्ये १४ वटा काठमाडौं उपत्यकामा सञ्चालनमा ल्याइने छ। बाँकी ६ वटा रुपन्देही जिल्लामा सञ्चालन गरिने थापाले बताए।
हाल चक्रपथमा मात्र चलिरहेको बस अब भने उपत्यका भर फैलाइने उनको भनाई छ।
‘हामी नाफामा भने जान सकेका छैनौ। तर अब अवस्था सामान्य हुने अपेक्षासहित नयाँ बस थप्ने तयारी गरेका हौं,’ उनले भने।
कोभिड महामारीका कारण लामो समय गरिएको निषेधाज्ञाले कम्पनील निकै ठूलो चुनौती सामना गर्नु परेको थापाले बताए कम्पनीका अनुसार नयाँ गाडीहरु ४० र ३६ सिट क्षमताका हुने छन्।
त्यस्तै यातायातले बिजुली गाडी उत्पादन गर्न एसेम्बल प्लान्ट निमार्ण थालेको छ। रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा निमार्ण थालिएको छ। कम्पनीले जति सक्दो छिटो नेपालमै बिजुली गाडि उत्पादन गर्ने उनको जोड छ।
कार्यक्रममा बोल्दै वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले बिजुली बसले वातावरण प्रदूषण कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेत, वातावरणविद् भूषण तुलाधरलगायतले मन्तव्य राखेका थिए।
कम्पनीले विद्युतीय सवारी प्रवर्द्धनमा योगदान पुर्याउने पत्रकारहरूलाई सम्मानसमेत गरेको थियो।