टिभिएसको नयाँ अपाचे २०० फोर भीको बिएस-६ संस्करण सार्वजनिक भएको छ। टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बिहीबार एक कार्यक्रममार्फत नयाँ बाइक सार्वजनिक गरेको हो।
नयाँ अपाचे २०० फोर भीमा आरटिएफआई (रेस ट्युन फ्युल इन्जेक्सन प्रविधि) सहितको र बिएस-६ इन्जिन जडित छ। बाइकमा स्पोर्ट्स, अर्बान र रेन मोड गरी सेग्मेन्टकै पहिलो तीनवटा राइड मोडहरू छ। यसले गर्दा बाइक राइडरले आफ्नो परिसर अनुसार बाइक चलाउन सक्ने कम्पनीले जनाएको छ।
२०० सिसी क्षमता भएको यो बाइक स्पोर्ट्स मोडमा हुँदा २०.२२ पिएस पावर र १७.२५ एनएमको टर्क जेनेरेट गर्छ। त्यस्तै अर्बान र रेन मोडमा बाइक चलाउँदा यसले १७.३२ पिएस पावर र १६.५१ एनएमको टर्क जेनेरेट गर्छ। कम्पनीले बाइकमा थुप्रै नयाँ विशेषताहरू पनि थप गरेको छ।
बाइक सार्वजनिक कार्यक्रममा बोल्दै टिभिएस मोटर्स कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष आर दिलीपले नयाँ अपाचे नेपाली बजार भित्र्याउन पाउँदा निकै खुसी लागेको बताए।
यसैगरी उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा, जगदम्बा मोटर्स् तथा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले भने, 'नेपाली ग्राहकहरूले सधैं टिभिएस अपाचे सिरिजको रेस एडिसनलाई रूचाएका छन्। र यो नयाँ एडिसनको रेस मेसिनले ग्राहकवर्गमा थप उत्साह ल्याउनेमा हामी आशावादी रहेका छौं। टिभिएस मोटर्स कम्पनीले सधैं ग्राहकको उच्चतम ड्राइभिङ अनुभवका लागि आफ्ना उत्पादनहरूमा उच्चस्तरीय र नविन प्रविधिको प्रयोग गर्ने प्रणालीको हामी एकदमै सरहाना गर्न चाहन्छौं।'
नयाँ अपाचे २०० फोर भी सेतो, निलो र कालो गरी तीन रङमा उपलब्ध छ।