सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत दुई पांग्रे सवारी साधनको कर बढाएसँगै नेपालमा मोटरसाइकल र स्कुटरको मूल्य के होला भन्ने धेरैमा चासो छ।
मोटरसाइकल र स्कुटर नेपालमा धेरैभन्दा धेरै विक्री हुने समय भने दसैं हो। दसैंलाई मध्यनजर गरेर मोटरसाइकल र स्कुटर कम्पनीहरूले विभिन्न अफर घोषणा गरिरहेका बेला सरकारले बजेटमार्फत दुई पांग्रे सवारी साधनको कर बढाएको हो।
सरकारले दुई पांग्रे सवारी साधनको कर बढाएपछि यसलाई टिभिएस मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले स्वागत गरेको छ।
जगदम्बा मोटर्स प्रालि अध्यक्ष साहिल अग्रवालले सरकारले ल्याएको यस कदमले नेपालको दुई पांग्रे सवारी उद्योगमा टेवा पुग्ने बताए।
'१ सय २५ सिसी सम्ममा कर बढेको छैन,' अग्रवालले भने '५० प्रतिशत अन्त: शुल्क कर छुट पनि छ नि। यसले गर्दा ओभरअलमा मोटरसाइकल र स्कुटरको मूल्य घट्छ, बढ्ने त कुरै भएन। '
अन्त शुल्क कर यसअघि २५ प्रतिशत छुट थियो अहिले नयाँ निर्णयपछि सरकारले ५० प्रतिशत अन्त शुल्क करमा छुट दिएको छ।
अग्रवालका अनुसार तत्काल टिभिएसका मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने छैन। बजेटले १२५ सिसीभन्दा माथिका मोटरसाइकल र स्कुटरको अन्तशुल्क १० प्रतिशत बढाएको छ।