दुई पांग्रे सवारी साधनको कर बढाएपछि यामाहा मोटरसाइकल र स्कुटर नेपालमा विक्री गर्दै आइरहेको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले व्यवसायीहरूलाई निरुत्साहित पार्ने गरी सरकारले नीति ल्याएको जनाएको छ।
विदेशबाट आयात गरी नेपालमा मोटरसाइकल र स्कुटर बिक्री गर्नेहरूलाई पेशाबाट नै पलायन हुने गरी सरकारले नीति ल्याएको एमएडब्लु इन्टरप्राइजेजको भनाइ छ।
'नेपालमा एसेम्वल्ड गर्नेहरूलाई यसले सुखको सास फेर्न देला, तर हामीजस्ता भारतबाट मोटरसाइकल र स्कुटर ल्याउनेहरूलाई सरकारले करमाथि कर थपिदिएको छ,' एमएडब्लु इन्टरप्राइजेजका एक अधिकारीले सेतोपाटीसँग भने।
'सरकारले अन्त:शुल्कमा २५ प्रतिशत छुटको स्थानमा त्यसलाई बढाएर ५० प्रतिशत छुट दिएको छ’, ती अधिकारीले भने, ‘यसले हामीजस्तालाई निरुत्साहित गर्छ र पेशाबाट पलाउन बनाउँछ।'
नेपालमा मोटरसाइकल र स्कुटर बेच्दै आइरहेका केही कम्पनीले एसेम्वल्डका नाममा छुट सरकारबाट लिए पनि उपभोक्ताहरूलाई त्यो भने नदिएको ती अधिकारीको आरोप छ।
नेपालमा मोटरसाइकल र स्कुटर बेच्दै आइरहेका कम्पनीहरुले एसेम्वल्ड भन्दै सामान आयात गर्दा भ्यालु अडिसन नदेखिएको ती अधिकारीले बताए।
एमएडब्लु इन्टरप्राइजेजका सिइओ राजु क्षेत्रीले सरकारको यो निर्णयले विदेशबाट मोटरसाइकल र स्कुटर आयात गर्नेहरूलाई अप्ठ्यारो र नेपालमा नै एसेम्वल्ड गर्नेहरूलाई सहज हुने वातावरण बनाइदिएको बताए।
बजेट प्रतिस्थापन विधेयकले १२५ सिसीभन्दा माथिका मोटरसाइकल र स्कुटरको अन्त:शुल्क १० प्रतिशत बढाएको छ। ५०० देखि ८०० सिसीका बाइकमा भने २० प्रतिशत अन्त:शुल्क बढाइएको छ।
अन्त:शुल्क बढेसँगै अब नयाँ आउने १२५ देखि १५५ सिसी इन्जिन क्षमताका दुई पांग्रे सवारी साधनको मूल्य बढ्ने लगभग निश्चित छ।