सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत दुई पांग्रे सवारीको कर बढाएको छ। १२५ सिसीभन्दा माथिका मोटरसाइकल र स्कुटरको अन्त शुल्क १० प्रतिशत बढाएको छ।
५०० देखि ८०० सिसीका बाइकमा भने २० प्रतिशत अन्त:शुल्क बढाइएको छ। अन्त:शुल्क बढेसँगै अब नयाँ आउने १२५ देखि १५५ सिसी इन्जिन क्षमताका दुई पांग्रे सवारी साधनको मूल्य बढ्छ कि बढ्दैन सबैको चासो त्यसमा नै केन्द्रित छ।
नेपालमा बजाज मोटरसाइकलको आधिकारिक विक्रेता एचएच बजाजले भने दुई पांग्रे सवारी कर बढेपछि छलफल गरेर निर्णय गर्ने जनाएको छ।
'दुई पांग्रे सवारी कर बढेको छ, सडक कर पनि सरकारले बढाएको छ, हामी मोटरसाइकलको मूल्य बढाउने कि नबढाउने छलफल गरेर त्यसको टुंगोमा पुग्छौं,' एचएच बजाजका एक उच्च कर्मचारीले सेतोपाटीलाई जानकारी दिए।
सरकारले सडक निर्माण दस्तुर बढाएको छ।
नयाँ व्यवस्थाअनुसार १२५ सिसीसम्मका मोटरसाइकल तथा स्कुटरमा १५ हजार रूपैयाँ, १२५–२५० सिसीसम्मका मोटरसाइकलमा १८ हजार रूपैयाँ, २५०–४०० सिसीसम्मका मोटरसाइकलमा ५० हजार रूपैयाँ र ४०० सिसीमाथिका मोटरसाइकलमा १ लाख रूपैयाँ सडक निर्माण दस्तुर सरकारले बढाएको छ।