नेपाली बजारमा स्कोडा 'कुशाक' भित्रिएको धेरै भएको छैन। तर छोटो समयमै गाडीले राम्रो चर्चा पाएको छ। नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले गत महिना मात्रै कुशाक एसयुभी सार्वजनिक गरेको हो।
१.० लिटरको टिएसआई (टर्बोचार्जड स्ट्रेट इन्जेक्सन) पेट्रोल इन्जिन भएका कुशाक मिड-सेक्सन एसयुभी हो। टिएसआई पेट्रोल इन्जिन अवार्ड प्राप्त गर्न सफल इन्जिन हो। यो अवार्डलाई अटोमोबाइल क्षेत्रको ओस्कार जस्तै मानिने पनि कम्पनीले जनाएको छ।
यो इन्जिनले ११५ बिएचपी पावर र १७.८ एनएम टर्क उत्पन्न गर्छ। टिएसआई इन्जिन म्यानुअल र अटोमेटिक दुवैमा उपलब्ध छन्। यसमा ६ स्पीड गियर ट्रान्समिसन छ।
कुशाक एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन ट्रिममा उपलब्ध छ। एक्टिभ र एम्बिसन म्यानुअल र अटोमेटिक दुवै ट्रान्समिसनमा उपलब्ध छ भने यसको स्टाइल ट्रिम म्यानुअल ट्रान्समिसनमा मात्रै उपलब्ध छ। नेपाली बजारमा कुशाक सुन्तले, रातो, सिल्भर, सेतो र कार्बन स्टिल गरी ५ विभिन्न रङमा उपलब्ध छ।
गाडीको बाहिरी आवरण शानदार छ। यसको अगाडि भागमा रहेको ग्रिल र स्कोडाको लोगोले गाडीलाई प्रिमियम देखाएको छ। गाडीमा अगाडि डिआरएल एलइडी र फग लाइट पनि छ। यसमा भएको रुफ हिल र सनरुफले गाडीमा स्पोर्टी लुक्स थपेको छ।
कुशाकको लम्बाइ जम्मा ४२२५ एमएम, चौडाइ १७६० एमएम र उचाइ १६१२ एमएम छ। त्यस्तै यसको ह्विलबेस २६५१ एमएम छ जुन सेगमेन्टकै सबभन्दा बढी भएको कम्पनीले जनाएको छ।
यसको ग्राउन्ड क्लियरेन्स १८८ एमएम छ। यसले गर्दा गाडीलाई उबडखाबड बाटोमा चलाउन सजिलो हुन्छ। स्टाइल ट्रिममा १७ इन्चको ह्विल छ। एक्टिभ र एम्बिसनमा भने १६ इन्चको अलोय ह्विल छ।
बुट स्पेसको कुरा गर्दा यसमा ३८५ लिटर क्षमता भएको डिकी छ। यसको पछाडिको सिटलाई फोल्ड गरेर १,४०५ लिटरसम्म बढाउन सकिन्छ।
गाडीको भित्री आवरण पनि हेर्दा प्रिमियम र आरामदायी छ। यसको ड्यासबोर्ड फराकिलो छ। एम्बिसन र स्टाइल ट्रिममा २५.४ सेन्टिमिटरको कलर इन्फोटेनमेन्ट टचस्क्रिन छ भने कुशाकको एक्टिभ ट्रिममा १७.७८ सेन्टिमिटरको टचस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले छ।
यसको अगाडि भागमा दुई वटा युएसबी पोर्ट राख्ने ठाउँ छ। त्यस्तै स्टाइल ट्रिममा भने वायरलेस चार्जिङ सुविधा छ। गाडीको अगाडि र पछाडि दुवैमा चालक र यात्रुलाई आवश्यक पर्याप्त ठाउँ पाउन सकिन्छ। पछाडिको सिटहरूमा एड्जस्टेबल हेड रेस्ट छ।
सुरक्षाको कुरा गर्दा गाडीमा ६ वटा एअरब्याग छन्। गाडीमा इबिडीसहितको एबिएस प्रविधि छ। रियर पार्किङ क्यामरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प एन्ड वाइपर, मल्टिकोलिजन ब्रेकिङ सिस्टम गाडीका अन्य विशेषता हुन् जुन सुरक्षालाई मध्यनजर गर्दै तयार पारिएको छ।
कम्पनीले नयाँ कुशाकको सुरूवाती मूल्य ४९ लाख ९० हजार रूपैयाँ तोकेको छ। यसको विभिन्न भेरियन्टको मूल्य यस प्रकारको छः
एक्टिभ एमटी- ४९,९०,००० रूपैयाँ
एम्बिसन एमटी- ५३,९०,००० रूपैयाँ
एम्बिसन एटी- ५८,९०,००० रूपैयाँ
स्टाइल एमटी- ६०,९०,००० रूपैयाँ
स्टाइल एटी - ६५,९०,००० रूपैयाँ