फोर्स गोर्खा २०२१ सार्वजनिक हुनुअघि यसको विशेषताहरू बाहिरिएको छ। कम्पनीले नयाँ गोर्खा यही साताको अन्तिमसम्ममा सार्वजनक गर्ने बताएको थियो। तर सार्वजनिक हुनुअघि नै गाडीको प्रायः विशेषता बाहिरिएको हो।
फोर्स मोटरले हालै सार्वजनिक गरेको टिजरमा नयाँ गोर्खाको बाहिरी आवरण देखाइएको छ। यसको अगाडि फराकिलो ग्रिल छ। त्यस्तै यसमा डिआरएल (डे टाइम रनिङ लाइट) सहितको गोलो आकारको एलइडी हेडलाइट पाउन सकिन्छ।
यसको अगाडि भागमा ठूलो र आकर्षक गोर्खाको ब्याजिङ हुनेछ। गोर्खाको ब्याजिङ हेडलाइटमा पनि देख्न सकिन्छ। हेडलाइटको माथिल्लो भागमा भने टर्न इन्डिकेटरहरू छन्।
यसमा नयाँ तरिकाको सार्क ग्रिल भेन्ट पाउन सकिन्छ। त्यस्तै गाडीको टेललाइटमा पनि केही परिमार्जन गरिएको छ। यसको टायर पनि नयाँ सेटको हुनेछ भने गाडीको रुफ सामाग्री राख्न मिल्ने ढंगले तयार पारिएको छ।
बाहिरी आवरणसँगै फोर्स मोटरले २०२१ गोर्खाको भित्री आवरणबारे समेत केही खुलाएको छ। यसको भित्री आवरण कालो रंगमा हुने सम्भावना बढी छ। गाडीमा सेमी-डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र डिजिटल इन्फोटेनमेन्ट स्क्रिनको सुविधा छ।
नयाँ गोर्खाको सिटहरू आरामदायी छन्। यसको अगाडि र पछाडि सबै सिटमा हात राख्न मिल्ने ठाउँ छ। यसको झ्यालहरू पनि ठूलो छ। जुन महिन्द्राको थारसँग तुलना गर्न सकिन्छ। बजारमा गोर्खा २०२१ ले प्रतिस्पर्धा महिन्द्राको थारसँगै गर्नेछ।
२.६ लिटर डिजेल इन्जिन जडित फोर्स गोर्खा एसयुभीले अधिकतम ८९ बिएचपी पावर र २६० एनएमको टर्क जेनेरेट गर्छ। यो इन्जिन ५ स्पीड गियर बक्समा उपलब्ध हुनेछ।
यतिका विशेषता भएको भारतीय बजारमा प्रतिक्षित नयाँ गोर्खा २०२१ को मूल्य भारु १० लाखदेखि १२ लाखसम्म हुने अनुमान लगाइएको छ।