झन्डै तीन वर्षअघि सार्वजनिक सुजुकीको बर्गमन स्ट्रिट म्याक्सी स्कुटर हो। विशेषगरी युवा पुस्ताले यसलाई रूचाएका छन्।
म्याक्सी स्कुटर सामान्य अरू स्कुटरभन्दा अलि ठूलो देखिन्छ। विशेषगरी लामो दुरीको यात्राका लागि म्याक्सी स्कुटर उपयुक्त मानिन्छ। यसमा सामान राख्ने धेरै ठाउँ हुनुका साथै बस्न पनि सहज हुन्छ। त्यस्तै यसको इन्धन क्षमता पनि अरू स्कुटरको तुलनामा बढी हुन्छ।
म्याक्सी डिजाइनको बर्गमन १२५ को फिनिसिङ निकै स्टाइलिस छ। यसकोअगाडि भाग ठूलो देखिन्छ। यसमा भएको विन्ड सिल्ड र एलइडी हेडल्याम्पले स्कुटरको समग्र आवरण दमदार देखाएको छ। यसमा डे टाइम रनिङ लाइट छ। साइड लाइटहरूर टेल ल्याम्प पनि चहकिला छन्।
स्कुटरको लम्बाइ १,८८० एमएम, चौडाइ ६७५ एमएम र उचाइ ११४० एमएम छ। यसको सिटको उचाइ ७८० एमएम छ। स्कुटरको ह्विलबेस १४६५ एमएम र ग्राउन्ड क्लियरेन्स १६० एमएम छ। कच्ची बाटोमा स्कुटर सहजै चलाउन सकिन्छ।
हेर्दा निकै भारीजस्तो देखिए पनि बर्गमनको तौल १०८ किलोग्राम मात्र छ।
कम्पनीले बर्गमन पाँच रङमा उपलब्ध गराएको छ- खरानी (ग्रे), सेतो, कालो, मरून (कलेजी) र निलो।
स्कुटरमा अगाडि १२ इन्च र पछाडि १० इन्चको टायर छ। यी दुवै ट्युबलेस हुन्। यसको अगाडि डिस्क र पछाडि ड्रम ब्रेक छ। अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि मोनो सक स्विङ आर्म सस्पेन्सन छ।
सुजुकी बर्गमन १२५ मा सुजुकी एक्सेस १२५ मा भएकै बिएस-४ कम्प्लायन्ट इन्जिन जडित छ। यो भनेको १२४ सिसी, एयर-कुल्ड, कार्बुरेटर इन्जिन हो। यसले अधिकतम ७००० आरपिएममा ८.७ पिएस पावर र ५००० आरपिएममा १०.२ एनएम टर्क जेनेरेट गर्छ।
यसको टप स्पिड ९१ किलोमिटर प्रति घन्टा छ। ५.६ लिटर इन्धन क्षमता भएको यो स्कुटरले प्रति लिटर ४० देखि ४५ किलोमिटरसम्मको माइलेज दिन्छ।
स्कुटरमा मल्टिफङ्सनिङ डिजिटल कन्सोल छ। यसमा स्पीड, ट्रिप, फ्युल गज, किलोमिटर र समय देख्न सकिन्छ। यसमा १२ भोल्टको डिसी चार्जिङ सकेट पनि छ।
यसमा २२.७ लिटरको अन्डर स्टोरेज क्यापासिटी पाउन सकिन्छ। त्यस्तै अगाडि पनि ड्रप बक्सहरू छन्। स-साना सामग्री यसमै अटाउन सकिन्छ। यसको फुट स्पेस पनि खुला भएकाले बढी उचाइ भएका चालकलाई चलाउन सजिलो छ।
कम्पनीले यतिका फिचर भएको बर्गमन १२५ को मूल्य २ लाख ४५ हजार ९ सय तोकिएको छ।